काठमाडौं- बलिउडका स्टार अमिताभ बच्चनको आफ्नै इतिहास छ। अमिताभले बलिउडलाई ‘शोले’जस्तो फिल्म दिएका छन् भने पछिल्लो दशकमा पनि उनले अभिनय गरेका ‘पिकु’ जस्ता सफल फिल्महरु छन्।
फिल्ममा चमत्कार गरेका अमिताभ पछिल्ला केही वर्षयता भने टेलिभिजन कार्यक्रम ‘कौन बनेगा करोडपति’ सञ्चालकका रुपमा देखिँदै आएका छन्।
भारतीय च्यानल ‘सोनी टेलिभिजन’मार्फत् प्रसारण हुने यो कार्यक्रमले हालसालै हजार एपिसोड पूरा गरेको छ। उक्त अवसरमा कार्यक्रमका सञ्चालक रहेका अमिताभको परिवार कार्यक्रम सेटमा देखिएको थियो। परिवारका तीन पुस्ता टेलिभिजनमा देखिएका थिए।
कार्यक्रमको यो अवसरमा अमिताभ भने केही भावुक देखिए। २१ वर्षदेखि चलिरहेको कार्यक्रममा अमिताभले आफू फिल्मबाट टेलिभिजनमा आउनुको कारण खुलाए। उनले भने, ‘जब म फिल्मबाट टेलिभिजनतिर आइरहेको थिएँ, तब मलाई मानिसहरुले यस्तो नगर्न भनेका थिए। उनीहरुले मलाई मेरो छविलाई घाटा हुने भन्दै टेलिभिजनमा काम नगर्न भनेका थिए। तर, म टेलिभिजनमा काम गर्न बाध्य थिएँ।’
अमिताभले थप बोल्दै आफ्नो त्यो बाध्यताको बारेमा खुलाएका छन्। उनले भने, ‘मलाई फिल्ममा काम दिइएको थिएन। काम नभएपछि म टेलिभिजनमा आएको थिएँ। तर, पहिलोपटक ब्रोडकास्ट भएपछि पाएको प्रतिक्रियाले मलाई खुसी बनाएको थियो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।