काठमाडौं– भारतीय टोलीले दक्षिण अफ्रिका भ्रमण गर्ने भएको छ। तर, भ्रमणको तालिकामा परिवर्तन हुनेछ र तीन टेस्ट र तीन एकदिवसीय मात्र खेलिनेछ।
निर्धारित समयतालिकामा रहेका चार टी२० अन्तर्राष्ट्रिय खेल भविष्यमा खेलिने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का सचिव जय शाहले जानकारी दिए।‘भारतीय टोलीले तीन टेस्ट र तीन एकदिवसीय खेलको लागि भ्रमण गर्नेछ। बाँकी चार टी२० खेलहरू पछि खेलाइनेछ,’ उनले एएनआईलाई भने।
दक्षिण अफ्रिकामा नयाँ कोरोनाको भेरियन्ट ओमिक्रोनका कारण भ्रमण शंकाको घेरामा रहेको थियो। दक्षिण अफ्रिका र विशेष गरी केप टाउनमा पहिलो दुई टेस्ट म्याच खेलिने गौतेङ प्रान्तमा धेरै संक्रमित फेला परिरहेका छन्।
सेन्चुरियनमा पहिलो एकदिवसीय खेल खेलेर नेदरल्याण्ड्सको टोली स्वदेश फर्किएको छ। नेदरल्याण्ड्सको टोली तीन एकदिवसीय खेलको भ्रमण स्थगित गरी स्वदेश फर्किएको हो। युरोपेली संघका धेरै देशहरूले पनि अफ्रिकाका दक्षिणी देशहरूमा यात्रा प्रतिबन्ध लगाएका छन्।
तर, भारत ‘ए’ टोली आफ्नो चार दिवसीय खेलको शृङ्खलाका लागि त्यहीँ बसेको छ। दोस्रो खेल शुक्रबार सकिएको छ भने तेस्रो खेल सोमबारबाट सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।