काठमाडौं– न्यूजिल्यान्डका स्पिनर अजाज पटेल एक्लैले १० विकेट लिएका छन्। वानखडे स्टेडियम मुम्बईमा भारतसँगको दोस्रो टेस्ट खेलको पहिलो इनिङ्समा उनले १० विकेट लिएका हुन्।
भारतीय मूलका पटेलले कसिलो बलिङ गरेपछि टस जितेर पहिला ब्याटिङ थालेको भारत दोस्रो दिन ३ सय २५ रनमा अलआउट भएको छ।
स्पिनर पटेलले ४७.५ ओभरमा १२ मेडन खर्चेर १ सय १९ रन खर्चेर १० विकेट लिए। उनी टेस्टमा १० विकेट लिने तेस्रो खेलाडी हुन्।
यसअघि भारतीय स्पिनर अनिल कुम्बले र इंग्ल्यान्डका जिम लेकरले १०–१० विकेट लिएका थिए। कुम्बलेले पाकिस्तानविरुद्ध दिल्लीमा सन् १९९९ र लेकरले अष्ट्रेलियाविरुद्ध सन् १९५६ मा म्यानचेस्टरमा १० विकेट लिएका थिए।
भारतका ओपनर मयंक अग्रवालले सर्वाधिक १ सय ५० रनको योगदान दिए। उनले ३ सय ११ बलमा १७ चौका र ४ छक्का प्रहार गरे।
तल्लोक्रमका अक्षर पटेल ५२ रनमा आउट भए। सुभमन गिल ४४ रनमा क्याच आउट भए।
स्पिनर अजाज पटेलले ३० औं ओभरमा दुई प्रमुख ब्याटरलाई शून्यमा गुमाएको थियो। दोस्रो बलमा चेतेश्वर पुजालाई शून्यमा बोल्ड भए। अन्तिम बलमा विराट कोहली एलबीडब्लू धरापमा परे। श्रेयस ऐरलाई १८ रनमा क्याच आउट गराएका थिए।
दुई टेस्ट खेलको सिरिजअन्तर्गत पहिलो टेस्ट बराबरीमा सकिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।