काठमाडौं- नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान तथा अलराउन्डर सीता रानामगरले हङकङमा आयोजना हुने महिला क्रिकेट प्रतियोगिता फेयर ब्रेक इन्भिटेसनल २०२२ खेल्ने भएकी छन्।
फेयर ब्रेक इन्भिटेसनल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) बाट मान्यता प्राप्त टी-२० प्रतियोगिता हो।
आगामी मे १ देखि १५ सम्म आयोजना हुने प्रतियोगितामा छ टोली सहभागी हुने छन्। तर, बायाँ हाते ब्याटर तथा स्पिनर सीताले कुन टोलीबाट खेल्ने आयोजकले निर्धारण गर्नेछ। यससँगै सीता विदेशी प्रतियोगिता खेल्ने पहिलो नेपाली महिला क्रिकेट खेलाडीसमेत बनेकी छन्।
सन् २००७ देखि क्रिकेट खेल्दै आएकी सीताले १४ वर्षमा ऐतिहासिक देशको लागि प्रतिनिधित्व गर्न पाउँदा धेरै खुसी लागेको बताइन्।
'मैले गर्दा आगामी महिला खेलाडीलाई सहयोग हुन्छ,' उनले भनिन्।
२००७ जुलाई १२ मा थाईल्यान्डविरुद्धको खेलमा राष्ट्रिय टोलीबाट डेब्यू गरेकी सीताले निरन्तर क्रिकेट खेल्दै आएकी छन्।
अघिल्लो साता यूएईमा सम्पन्न आईसीसी वुमन्स टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा उनले पाँच खेलमा १०० रन बनाउनुका साथै छ विकेट लिँदै प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन्।
उनले कतारसँगको तीन महिला टी-२० आई खेलमा पहिलो खेलमा ३९ र तेस्रो खेलमा अविजित ८२ रन बनाएकी थिइन्। ८२ रन नेपाली महिला क्रिकेटरले कुनै पनि अन्तर्राष्ट्रिय खेलमा बनाएको उच्च व्यक्तिगत प्रदर्शन हो। सीताले नेपालबाट २१ महिला टी-२० आईमा ४३९ रन बनाएकी छन्। साथै, उनले २१ विकेट लिएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।