काठमाडौं– नेकपा (माओवादी केन्द्र)को मंसिर २५ गते हुने प्रदेश सम्मेलनको सबै तयारी पूरा भएको छ।
प्रदेश समितिमा राखिने पदाधिकारी र सदस्यका विषयमा गृहकार्य गर्न नेताहरु आ–आफ्नो प्रदेशतिर लागेका छन्। प्रदेशमा माओवादी केन्द्रको भावी नेतृत्वमा क–कसलाई ल्याउने भन्ने विषयमा छलफल भइरहेको केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष विष्णुपुकार श्रेष्ठले बताए।
उनका अनुसार प्रदेश पदाधिकारी सहित सदस्य र निर्वाचन समिति तयारी अवस्थामा राखिएको छ। सात भौगोलिक प्रदेश र तीन गैरभौगोलिक गरि १० प्रदेशको पार्टी अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ जुममार्फत् भर्चुअल बैठकबाट एकै पटक सम्बोधन गर्ने भएका छन्।
‘सात भौगोलिक क्षेत्रले आ–आफ्नो प्रदेश राजधानीमा सम्मेलन गर्ने छन्। प्रवास,विशेष र सम्पर्क प्रदेशले आ–आफ्नो अनुकुलतामा सम्मेलन गर्ने छन्,’ श्रेष्ठले भने,‘ती दशवटै प्रदेशलाई अध्यक्ष प्रचण्डले आगामी शनिबार २५ गते दिउँसो १ बजे उद्घाटनपछि सम्बोधन गर्नुहुने छ।’
प्रदेश समिति पदाधिकारीसहित सदस्य सकेसम्म सर्वसम्मत गर्न निर्देशन दिएको छ। प्रदेशमा सात सदस्यीय पदाधिकारीसहित बढीमा १ सय ७५ सदस्यसम्म बनाउन सकिन्छ।
पदाधिकारीमा अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, सहसचिव र एक कोषाध्यक्ष हुनेछन्। प्रदेश सम्मेलनमा सहमती नभए निर्वाचन गर्न सात सदस्यीय निर्वाचन समिति बनाएको श्रेष्ठले बताए। जसमा एक निर्वाचन संयोजक र अरु ६ सदस्य हुनेछन्। प्रदेश सम्मेलन सकिएलगतै पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन हुने भएको छ।
यस्तै, सम्मेलन हुन नसकेका पालिकालाई मंसिर २० गतेभित्र सक्ने निर्देशन दिएको छ। भौगोलिक ७५३ सहित गैरभौगोलिक गरि कुल ७७६ पालिकामध्ये अझै एक सय पालिका अधिवेशन हुन बाँकी रहेको श्रेष्ठले बताए। ती पालिकामा सर्वसम्मत नभए निर्वाचन गरेर भएपनि सम्पन्न गर्न निर्देशन दिएको छ। पालिका अधिवेशन सकिएपछि मात्रै प्रदेश सम्मेलन हुने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।