काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद् पुनःस्थापनका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको बताएका छन्।
सञ्चारकर्मीहरुसँग शुक्रबार कुराकानी गर्दै उनले संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट भएको सकारात्मक कामको गुन तिर्ने बताए।
‘यो तपाईंहरुले थाहा पाइराखेकै कुरा हो नि ! संसद् पुनःस्थापनाका लागि न्यायपालिकाबाट सकारात्मक काम भएको छ। त्यो बिर्सेका छैनौं। अहिले न्यायपालिकालाई समस्या पर्दा त्यसलाई सहयोग गर्छौं,’ उनले भने।
उनले थपे,‘हामीले सहयोग हिजो पनि गरिहाल्यौं नि ! गठबन्धनको बैठक बसेर प्रधानन्यायाधीश अस्पतालमा बसेको समयमा कम्तीमा पनि बिदा बसेर कार्यवाहक तोक्नु राम्रो हुन्छ भनेर भनियो। त्यो पनि सहयोग नै गरेको हो।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा डिस्चार्ज भएर आइसकेको जानकारी दिँदै उनले अब फेरि सत्ताधारी गठबन्धन दल बसेर सल्लाह गर्ने बताए।
फरक प्रसङ्गमा अध्यक्ष दाहालले सरकारले यही मङ्सिर २८ गतेका लागि आह्वान गरेको संसद् बैठकले आफ्ना नियमित कामलाई अघि बढाउने बताए।
एमालेले संसद् बैठक अवरुद्ध गर्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने,‘उहाँहरुले सुरुदेखि नै अवरोध गरिराख्नुभएको छ तर अधिवेशन पनि चल्यो, बजेट पनि प्रस्तुत भयो, पारित पनि भयो। त्यसैगरी चल्छ।’ उनीहरुको नियत चाहिँ ठीक छैन भन्ने कुरा पूरै नेपालीले देखिसकेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।