काठमाडौं– दिनेश राउतले निर्देशन गरेको फिल्म ‘प्रकाश’को डिजिटल राइट्स बिक्री भएको छ। ‘डीएआर मुभिज प्रालि’ले या चलचित्रको डिजिटल अधिकार खरिद गरेको हो।
चलचत्रिका निर्देशक राउतका अनुसार चलचित्रको निर्माण पक्ष र वितरकले डीएआर मुभिजका सञ्चालक श्याम धितालसँग मंगलबार सम्झौता गरेका हुन्। उनकाअनुसार फिल्मलाई हिन्दीमा पनि डब गरेर प्रदर्शन गरिने छ।
चलचत्रि आगामी वर्षको सुरुवातमा प्रदर्शन हुने बताइए पनि हालसम्म निश्चित मिति भने सार्वजनिक भएको छैन। नेपाल लाइभसँगको कुराकानीमा राउतले बताएअनुसार फिल्म आगामी वर्ष वैशाखमा प्रदर्शन गर्ने तयारी भइरहेको छ। उनका अनुसार हाल फिल्मको पोस्ट प्रोडक्सनको काम भइरहेको छ।
राउतको निर्देशनमा बनेको फिल्ममा प्रदीप खड्का र रेनु योगी प्रमुख भूमिकामा रहेका छन्। सँगै दीया मास्के, प्रकाश घिमिरे, पवित्रा खड्का, प्रशान्त श्रेष्ठ, निरज पन्थी लगायतका कलाकारको फिल्ममा अभिनय रहेको छ।
बिनिस इन्टरटेन्मेन्टको प्रस्तुती रहेको फिल्ममा विकास सुवेदीको कथा रहेको छ। फिल्मलाई महेन्द्र अधिकारीको लगानीमा निर्माण गरिएको हो। फिल्मको पोस्टर र ट्रेलर केही साताभित्रै सार्वजनिक गरिने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।