काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले महाधिवेशनका लागि २ सय ३५ जना मनोनित महाधिवेशन प्रतिनिधिको सूची सार्वजनिक गरेको छ।
अध्यक्षहरु कमल थापा, पशुपति शमशेर जबरा र प्रकाशचन्द्र लोहनीको सहमतिमा सूची सार्वजनिक गरिएको हो।
उक्त सूचीमा विश्ववन्धु थापादेखि पञ्चायतकालका नेताहरु नवराज सुवेदी, हरिबहादुर बस्नेत, नवराज सुवेदी, बालाराम घर्तिमगर, तोरणबहादुर गुरुङदेखि महामन्त्रीको उम्मेदवार रहेकी रोशन कार्कीसमेत मनोनित सूचीमा अटाएकी छन्।
राप्रपाको विधानमा ५ प्रतिशत प्रतिनिधि अध्यक्षले मनोनित गर्न सक्ने व्यवस्थाअनुसार २ सय ३५ जना मनोनित गरिएको हो।
राप्रपाको निर्वाचन समितिले राष्ट्रिय सभागृहमा सो सूची टाँसी सकेको छ। हिजै निर्वाचनका लागि उम्मेदवारको सूची सार्वजनिक गर्ने भनिएपनि महाधिवेशन प्रतिनिधिमा विवाद भएपछि आजलाई सरेको छ। आज उम्मेदवारी दर्ता गर्दै शनिवार निर्वाचन हुने छ।
यसअघि बिहीबार समितिले ४४७१ जना प्रतिनिधिको सूची प्रकाशित गरेको थियो। उक्त सूचीमा अब २३५ जना थप हुनेछन्। यही प्रतिनिधिले राप्रपाको नेतृत्व चयन गर्नेछन्।
राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ। अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङदेन प्रतिस्पर्धामा रहेका छन्।






नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।