काठमाडौं– भारतीय क्रिकेट टोलीको डिसेम्बर–जनवरीमा हुने भनिएको दक्षिण अफ्रिका भ्रमणलाई लिएर अहिले अन्योलता छाएको छ।
अफ्रिकी महादेशमा कोरोनाको नयाँ भेरियन्ट संक्रमितको संख्या बढ्दै गएपछि भारतीय टोलीलाई दक्षिण अफ्रिका भ्रमणका लागि विशेष सरकारी अनुमति चाहिने बताइएको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)को स्रोतका अनुसार ओमिक्रोन भेरियन्टका कारण भारतीय टोलीको दक्षिण अफ्रिका भ्रमण परिवर्तन हुन सक्छ।
बोर्डले एक साताको लागि भ्रमण स्थगित गर्न सक्नेछ। यद्यपि, यसबारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन।
भारतले अफ्रिकामा ३ टेस्ट, ३ एकदिवसीय र ४ टी२० खेल खेल्ने छ। यसका लागि टोली ९ डिसेम्बरमा अफ्रिका जाने कार्यक्रम तय छ।
दक्षिण अफ्रिकामा कोरोना संक्रमणको अवस्था नाजुक बन्दै गएको छ। यहाँ फेला परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन विश्वका २४ देशमा पुगिसकेको छ। धेरै देशहरूले अफ्रिकी देशहरूसँगको अन्तर्राष्ट्रिय उडानहरूमा प्रतिबन्ध लगाएका छन्।
बीसीसीआई सरकारको स्वीकृति पर्खिँदै
बीसीसीआईका एक पादधिकारीले समाचार एजेन्सी एएनआईसँग भने,‘ हामी सिरिज एक हप्ता लम्ब्याउने विचार गरिरहेका छौं। यसको कारण कोरोनाको नयाँ भेरियन्टसँग सम्बन्धित खतराहरू हुन्।’
ती पदाधकिारीले थपे, ‘खेलाडीको सुरक्षा र स्वास्थ्य हाम्रो प्राथमिकता हो र हामी अहिले सरकारको अनुमति पर्खिरहेका छौं। हामी यस विषयमा दक्षिण अफ्रिका क्रिकेट बोर्डसँग निरन्तर छलफल गरिरहेका छौं। बीसीसीआईले दक्षिण अफ्रिका भ्रमणका लागि टोली छनोट पनि रोकेको छ।’
यता, खेलकुद मन्त्री अनुराग ठाकुरले बीसीसीआईले टोली पठाउनुअघि सरकारसँग कुरा गर्नुपर्ने बताएका थिए।
उनले बीसीसीआई मात्र नभएर सबै बोर्डले आफ्नो टोलीलाई खतरा भएको देशमा पठाउनुअघि सरकारसँग कुरा गर्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।