काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आफू अस्पतालबाट डिस्चार्ज भएर भोलि आएपछि छलफल गर्ने जवाफ न्यायाधीशलाई दिएका छन्।
प्रधानन्यायाधीश राणा कोरोना संक्रमणपछि अस्पताल भर्ना भएसँगै सर्वोच्च अदालतमा मुद्दाको पेसी नै नतोकिने स्थिति आएको भन्दै न्यायाधीशहरु बिहीबार छलफलमा बसेका थिए।
छलफलकै क्रममा न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशलाई फोन गरेका थिए। कार्कीसँगको फोनमा राणाले आफू भोलि अस्पतालबाट डिस्चार्ज भएर आउने र त्यसपछि 'बसेर कुरा गरौं' भन्ने जवाफ दिएका थिए।
त्यसै अनुसार आज कामु नतोकेर नै न्यायाधीशहरुको बैठक सकिएको हो। कोभिड–१९ संक्रमण भएपछि प्रधानन्यायाधीश राणा मंसिर १३ गते शसस्त्र प्रहरी अस्पतालको आइसोलेसनमा उपचाररत छन्।
बुधबारबाट गोलाप्रथामा पेसी तोक्न सुरु गरिएको भएपनि प्रधानन्यायाधीश राणाले अस्पतालबाटै अदालत चलाउन खोजेको भन्दै न्यायाधीशहरु इजलासमा बसेका छैनन्।
प्रधानन्यायाधीश विदेश जाँदा वा बिरामी हुँदा वरिष्ठतम् न्यायाधीशलाई कायम मुकायमको जिम्मेवारी दिने प्रचलन रहेको छ।
सर्वोच्च अदालतको काम कारबाही प्रभावित हुने भएपछि आजै बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि राणालाई बिदामा बसेर कामु अन्य न्यायाधीशलाई तोक्न सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।