काठमाडौं– रविन्द्र जडेजा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को टेस्ट बरियतामा अलराउन्डरतर्फ एक स्थान माथि उक्लिएका छन्। जडेजाले न्यूजिल्याण्डविरुद्धको पहिलो टेस्टमा अर्धशतक प्रहार गर्नुका साथै पाँच विकेट लिएका थिए। उनीभन्दा अगाडि वेस्ट इन्डिजका जेसन होल्डर रहेका छन्।
बलरको वरियतामा जडेजा १९औं स्थानमा झरेका छन्। यससँगै बंगलादेशविरुद्धको पहिलो टेस्टमा पाँच विकेट लिएका पाकिस्तानका बलर शाहीन शाह अफ्रिदी पहिलोपटक आईसीसीको टेष्ट बलिङ वरीयताको शीर्ष पाँचमा परेका छन्।
यस खेलमा सात विकेट लिने अफ्रिदी जेम्स एन्डरसन, कागिसो रबाडा र निल वाग्नरलाई पछि पार्दै पाँचौं स्थानमा उक्लिएका हुन्।
अफ्रिदीले पछाडि छोडेका तीन खेलाडीलाई फेरि अगाडि बढ्ने मौका छ। यदि वाग्नरले भारतविरुद्धको दोस्रो टेस्ट खेले भने उनीसँग यो अवसर हुनेछ।
अर्कोतर्फ, एन्डरसनले अर्को साताबाट सुरु हुने एसेज सिरिजमा अग्रता लिन सक्नेछन् भने दक्षिण अफ्रिकाका रबाडाले भारतविरुद्धको घरेलु सिरिजमा पुन: अगाडि बढ्न सक्छन्।
हसन अली ११औँ स्थानमा पुगेका छन्। बंगलादेशविरुद्धको पहिलो टेस्टमा हसनले कुल सात विकेट लिएका थिए।
भारतविरुद्धको पहिलो टेस्टमा उत्कृष्ट प्रदर्शन गरेका काइल जेमिसन नवौं स्थानमा झरेका छन्। अर्कोतर्फ टिम साउथी तेस्रो स्थानमा छन्, दोस्रो वरियताका रविचन्द्रन आश्विनभन्दा एक अंकले मात्र पछाडि छन्। बलरको वरियतामा अस्ट्रेलियाका नयाँ कप्तान प्याट कमिन्स पहिलो स्थानमा छन्।
ब्याट्सम्यानमध्ये टम लाथम र दिमुथ करुणारत्नेले कानपुर टेस्ट र गाले टेस्टमा उत्कृष्ट प्रदर्शन गर्दै वरियतामा सुधार गरेका छन्। भारतविरुद्धको पहिलो टेस्टमा ९५ र ५२ रनको इनिङ्स खेलेका लाथम पाँच स्थान माथि उकल्दै नवौं स्थानमा पुगेका छन्।
अर्कोतर्फ श्रीलंकाका कप्तान वेस्टइन्डिजविरुद्ध १४७ र ८३ रन बनाएर वरियतामा सातौं स्थानमा पुगेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।