काठमाडौं- यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताबाट बाहिरिसकेको कर्णाली प्रदेशले प्रदेश २ माथि दुई विकेटको संघर्षपूर्ण जित दर्ता गरेको छ।
प्रदेश २ ले दिएको ४६ रनको लक्ष्य कर्णालीले १३.३ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो।कर्णालीका लागि प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे। यता, विपिन रावल ५, रमेश बुढा ३ रनमा आउट भए। राज शाह ६ रनमा अविजित रहे।
प्रदेश २ का राजेश यादवले सर्वाधिक ६ विकेट लिए पनि जितका लागि पर्याप्त भएन। यता, विवेक यादवले २ विकेट लिए।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले १३.४ ओभरमा अलआउट हुँदै केवल ४५ रन मात्रै बनायो।
प्रतियोगितामा यो दोस्रो सर्वाधिक कम योगफल हो। सबैभन्दा कम रन भने गण्डकी प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध २३ बनाएको थियो।
प्रदेश २ का सन्नी साहले सर्वाधिक १२ रन जोडे भने सन्तोष कार्कीले ११ रन बनाएका थिए। अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
तृतराज दास ८, रोहन विके ४, अमित यादव, आदिल अन्सारी, विवेक कुमार यादव, प्रदीप पासवान र आशिष झा शून्यमा आउट भए।
कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए। यता, अनुज चनाराले २ विकेट लिए।
कर्णालीविरुद्ध पराजित भएसँगै प्रदेश २ प्रतियोगिताबाट बाहिरिएको छ। प्रदेश २ ले ६ मध्ये २ खेलमा जित निकालेको थियो।
यसअघि नै प्रतियोगिताबाट बाहिरिएको कर्णालीले पनि ६ मध्ये २ खेलमा जित हात पार्दै प्रतियोगिता टुंग्याएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।