काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले सर्वोच्च अदालतमा तत्काल कायम मुकायम प्रधानन्यायाधीश तोक्न माग गरेका छन्।
प्रधानन्यायाधीशबिनाको सर्वोच्च अदालत हुन नसक्ने भन्दै उनले तत्काल कामु तोकेर सर्वोच्चको काम अघि बढाउनुपर्ने बताएका हुन्। बिहीबार सर्वोच्च अदालतका न्यायाधीशहरूसँगको छलफलमा उनले न्यायाधीशहरूलाई खुट्टा लरबराउने काम नगर्न सुझाव दिए।
‘प्रधान्यायाधीशबिनाको सर्वोच्च हुन सक्दैन। काम चलाउने प्रधानन्यायाधीश चाहिन्छ। उहाँ बारको आन्दोलन छेक्न जानु भएको हो भने यो दु:खद् हुन्छ। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म बारको आन्दोलन जारी रहन्छ’, छलफलमा अध्यक्ष श्रेष्ठले भने।
छलफलमा सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले पनि पहिले सर्वोच्च अदालतमा कायम मुकामय प्रधानन्यायाधीश तोक्न सुझाव दिए।
उनले पहिले कामु प्रधानन्यायाधीश तोकेर मात्र गोलाप्रथा सुरु गर्न सुझाव दिएका हुन्। बुधबारदेखि सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न सुरु गरिएको भएपनि इजलास भने बस्न सकेन। सर्वोच्चमा हाल कसैलाई कामु प्रधानन्यायाधीश नतोकिएका कारण न्यायाधीशहरु इजलासमा नबसेका हुन्।
शाक्यले वरिष्ठत न्यायाधीश कामु प्रधानन्यायाधीश हुने संविधानमै व्यवस्था भएकाले न्यायाधीश दीपककुमार कार्कीलाई कामु प्रधानन्यायाधीश तोक्न माग गरे।
‘चार दिनदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ। न्यायाधीशले चासो नदिएको हो कि प्रशासन नभएको हो। वरिष्ठतम न्यायाधीश कामु प्रधानन्यायाधीश हुने कुरा संविधान छ। स्वत: हुने भएपछि प्रश्न कसले निर्णय गर्ने भन्दा प्रशासनले जानकारी दिने हो। जानकारी दिएपछि लिने हो’, छलफलमा दिएको सुझाव उल्लेख गर्दै उनले भने, ‘दीपककुमार कार्कीले कामु प्रधानन्यायाधीशको जिम्मेवारी लिनु पर्छ। तपाईंहरूले आज निर्णय गर्नुपर्छ। आज कामु तोक्नुस् अनि मात्र पेसीको गोला तान्न जानु होला।’
बुधबारबाट गोलाप्रथामा पेसी तोक्न सुरु गरिएको भएपनि प्रधानन्यायाधीश राणाले अस्पतालबाटै अदालत चलाउन खोजेको भन्दै न्यायाधीशहरु इजलासमा बसेका छैनन्।
प्रधानन्यायाधीश विदेश जाँदा वा बिरामी हुँदा वरिष्ठतम न्यायाधीशलाई कायम मुकायमको जिम्मेवारी दिने प्रचलन रहेको छ।
सर्वोच्च अदालतको काम कारबाही प्रभावित हुने भएपछि आजै बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि राणालाई बिदामा बसेर कामु अन्य न्यायाधीशलाई तोक्न सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।