काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले कायममुकायम(कामु) नदिएपछि सर्वोच्च अदालतका न्यायाधीशहरु छलफलमा जुटेका छन्। कामुको जिम्मेवारी नतोकिएकै कारण बिहीबार अहिलेसम्म मुद्दाको पेसी नै तोकिएको छैन।
बुधबारबाट गोलाप्रथामा पेसी तोक्न सुरु गरिएको भएपनि प्रधानन्यायाधीश राणाले अस्पतालबाटै अदालत चलाउन खोजेको भन्दै न्यायाधीशहरु इजलासमा बसेका छैनन्।
न्यायाधीशहरुको छलफलमा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्य पनि सहभागी छन्। कामु नतोकेपछि कसरी अघि बढ्ने लगायतका विषयमा सामूहिक धारणा बनाउन आफूहरु छलफलमा बसेको एक न्यायाधीशले बताए।
‘उहाँ बिरामी भएपछि बिदा बसेर कामु दिनुपर्ने हो। तर दिनुभएन,’ ती न्यायाधीशले भने, ‘अस्पताल बसेरै न्यायालय चलाउन खोज्नुभयो।’
प्रधानन्यायाधीश विदेश जाँदा वा बिरामी हुँदा वरिष्ठतम न्यायाधीशलाई कायम मुकायमको जिम्मेवारी दिने प्रचलन रहेको छ।
सर्वोच्च अदालतको काम कारबाही प्रभावित हुने भएपछि आजै बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि राणालाई बिदामा बसेर कामु अन्य न्यायाधीशलाई तोक्न सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।