काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले सर्टलिस्टमा परेका ५ प्रशिक्षकसँग अन्तर्वाता लिएको छ। क्यानले गरेको सर्वजनिक आह्वानअनुसार दरखास्त दिनेमध्ये सर्टलिस्टमा परेका प्रशिक्षकसँग हिजो (बुधबार) भर्चुअल अन्तर्वार्ता लिएको हो।
७ जनाको सर्टलिस्ट तयार भए पनि हिजो राति १० बजेसम्म नेपाली राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक पुवुदु दाशानायके, मोन्टी देसाई, अशंखा गोरुसिंगेलगायत ५ जनामात्रै उपस्थिति भएको क्यान स्रोतले जनाएको छ।
योसँगै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको नियुक्ति अर्को साता हुने सम्भावना रहेको छ। अन्तर्वार्ता लिन क्यानका तर्फबाट कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल, कोषाध्यक्ष रोशनबहादुर सिंह, महाप्रबन्धक रौनक मल्ल, क्रिकेट म्यानेजर विनोद दास र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)का प्रतिनिधि सहभागी थिए।
क्यानले गत १ कात्तिकमा मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियोे। क्यानले दिएको मितिभित्र राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक पद सम्हाल्नको लागि ६० जनाको आवेदन परेको थियो।
त्यसमध्ये क्यानले १५ जनाको अन्तर्वार्ता लिने तयारी गरेको थियो। तर, छनोट समितिले सर्टलिस्ट गर्दै ७ जनाको अन्तर्वार्ता लिने निर्णय गरेको हो।
मुख्य प्रशिक्षक डेव ह्वाटमोरले राजीनामा दिएपछि नेपाली टिम मुख्य प्रशिक्षकविहीन रहेको छ।
ओमानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिजपछि उनले राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।