काठमाडौं- विदेशबाट फर्किनेहरूले ल्याएको बाला आकारको काँचो सुन केही दिन यता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सारका कर्मचारीले लगातार बरामद गरिरहेका छन्।
यसैक्रममा बुधबार एकै दिन खाडी लगायतका मुलुकबाट फर्किनेहरूले काँचो सुनलाई बालाको स्वरूप बनाएर ल्याएका १५. १६ केजी सुन विमानस्थल भन्सार कार्यालयले बरामद गरेको हो।
बुधबार मध्यरातसम्मको विवरण अनुसार काँचो सुनलाई बाला आकारमा बनाएर ल्याएका ३ सय २६ यात्रुबाट १५.१६ केजी सुन बरामद गरिएको विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए।
उनका अनुसार मंगलबारको समेत गरि ४१० जना यात्रुले १३.१२ किलो सुन भन्सार तिरेर लगेका छन्। यसअघि मंगलबार मध्यरातसम्मको विवरण अनुसार २१२ यात्रुमध्ये १४७ जनाले राजश्व तिरेर ६ किलो ९८२ ग्राम सुन लगेका थिए भने ७४ जनाले राजश्व नतिरेका कारण ४ किलो सुन काउन्टरमा डिपोजिट रहेको थियो।
उक्त डिपोजिट रहेको समेत गरि बुधबार ४१० जनाले १३.१२ किलो सुन राजश्व तिरेर लगेका हुन् नियम अनुसार ५० ग्राम सुनका गहना भन्सार नतिरि ल्याउन पाइन्छ भने २ सय ग्रामसम्मको सुनका गहना भन्सार तिरेर लैजान पाइन्छ।
प्रमुख भन्सार प्रशासक भट्टराईका अनुसार यसबाट बुधबार १ करोड २६ लाख ८७ हजार ४०५ रुपैयाँ राजश्व संकलन भएको छ। यसअघि मंगलबार ६७ लाख ३० हजार ९१२ रुपैयाँ संकलन भएको थियो।
सोमबार एकैदिन मात्रै २१ किलो काँचो सुन भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। एक दिनमात्रै झण्डै दुई करोडको राजश्व उठ्ने सुन नियन्त्रणमा लिइएको भन्सार कार्यालयले जनाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।