काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संसदमा देखिएको गतिरोध र सर्वोच्च अदालतमा देखिएको विवाद समाधानका लागि आफूले उपाय खोजेर अघि बढने बताएका छन्।
स्पेनमा सम्पन्न आइपीयू को १४३ औं सम्मेलनमा सहभागी भइ बिहीबार स्वदेश फर्केका सभामुख सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन्।
‘म स्पेन जानु अघि नेपाल बारले ध्यानाकर्षण पत्र पनि बुझाएको थियो,’ उनले भने, ‘यस बीचमा के भयो त्यो बुझ्न पाएको छैन। अब यसका बारेमा पनि मैले उपाय खोज्ने छु।’
उनले संसदमा देखिएको गतिरोध अन्त्यका विषयमा पनि कसरी अघि बढ्ने भन्ने विषयमा आफूले उपाय खोजिरहेको र त्यसै अनुसार अघि बढने बताए।
स्वदेश बाहिर रहँदा पनि राष्ट्रिय राजनीतिका बारेमा आफूले जानकारी लिइ नै रहेको भन्दै उनले स्वदेश फर्किसकेको र पहलकदमी लिने बताए।
लोकतन्त्रको चुनौती सबैलाई समेटेर लैजाने कुरा नै भएको उनको भनाइ छ।
अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १४३ औं सम्मेलनमा सहभागी हुन सभामुख सापकोटा यही मंसिर ८ गते स्पेनको म्याड्रिड गएका थिए। सम्मेलनलाई सभामुख सापकोटाले १२ गते सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।