काठमाडौं– निर्वाचन आयोगले शुक्रबार (मङ्सिर १७ गते)देखि आफू बसेको ठाउँबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको छ।
बुधबार निर्वाचन पर्यवेक्षण समितिले आयोजना गरेको निर्वाचनसँग सम्बन्धित समसामायिक विषयको अन्तरक्रियामा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले आफू बसेको ठाउँबाट नै मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको बताएका हुन्।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले अब ७७ जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र सबै इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था गरेको जानकारी दिए।
आगामी माघ १२ गते राष्ट्रियसभाको चुनाव गर्न आयोगले तयारी गरिरहेको समेत उनले बताए।
यसैगरी अब उम्मेदवारी घोषणा गर्दा नै उम्मेदवारको सम्पत्ति विवरण लिने कानुन पनि आयोगले बनाएको छ। निर्वाचनको बेलाको हरेक सात÷सात दिनमा आम्दानी र खर्च सार्वजनिक गर्नुपर्ने नियम पनि आयोगले बनाएको छ। र अनुगमनका लागि लागि स्थानीय तहको निर्वाचन हुँदा ७५३ ठाउँमा, प्रदेशको निर्वाचन हुँदा ३३० ठाउँमा, प्रतिनिधिसभाको निर्वाचन हुँदा १६५ ठाउँमा अनुगमन समितिको व्यवस्था गरिएको पनि आयोगले जनाएको छ।
राष्ट्रियसभाको निर्वाचनमा भने खाता, सम्पत्ति विवरण लगायका कुराहरु स्वयं आयोगले नै हेर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।