काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोससहितको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको छ।
मन्त्रालयमा आज (बुधबार) भएको भेटमा उनीहरूबीच विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताको विषयमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ। उक्त अवसरमा मन्त्री श्रेष्ठले नेपालको विकासमा विश्व बैंकले पुर्याउँदै आएको योगदानको लागि धन्यवाद दिँदै आगामी दिनमा लगानी थप विस्तार हुने विश्वास व्यक्त गरे।
विश्व बैंकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न योजनाहरुमा पुर्याउँदै आइरहेको सहयोग महत्त्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई सरोकारवलाहरुसँग बृहत् छलफल गरी प्रभावकारी बनाइने बताए।
'प्रधानमन्त्री रोजगार कार्यक्रमलाई विश्व बैंकबाट प्राप्त सहयोगले ठूलो योगदान दिइरहेको छ। यसलाई प्रभावकारी बनाउन दिगो रोजगारीसँग जोड्ने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार रोजगारी आपूर्ति गर्नेतर्फ काम अगाडि बढाउनुपर्छ,' मन्त्री श्रेष्ठले भने।
श्रम रोजगारी तथा सीप तालिमलाई एकीकृत रुपमा सञ्चालन गर्न स्थानीय तहमार्फत् नमूना सेवा केन्द्रको सञ्चालन गर्ने र सबै स्थानीय तहमा विस्तार गर्ने आफ्नो योजना रहेको उनले बताए। मन्त्री श्रेष्ठले उक्त परियोजनामा विश्व बैंकबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे। मन्त्रालयले राष्ट्रिय रोजगार व्यवस्थापन सूचना प्रणालीको अवधारणा अघि सारेको बताउँदै उनले विश्व बैंकबाट प्राविधिक सहायता प्राप्त हुने विश्वास व्यक्त गरे।
बेरोजगार, गरिब र जोखिमपूर्ण अवस्थामा रहेका समुदायको उत्थानको लागि हाल सञ्चालनमा रहेका विभिन्न सामाजिक सुरक्षा वा संरक्षणसम्बन्धी क्रियाकलापहरु एकीकृत रुपमा सञ्चालन गर्ने योजना रहेको भन्दै मन्त्री श्रेष्ठले बिश्व बैंकसँग सहयोगको अपेक्षा गरिएको बताए। साथै, उनले विभिन्न निकायबाट हुँदै आएका सबैखाले सीप तालिमहरुलाई एकत्रित रुपमा सञ्चालन गर्ने तयारी गरिएको बताए।
विश्व बैंकका निर्देशक जर्भोसले नेपालमा थप रोजगारमुलक कार्यक्रम, यससम्बन्धी आवश्यक नीति, क्षमता विकास तथा सेवा प्रवाहमा सुधार हुने गरी प्राविधिक सहायता परिचालन गर्न विश्व बैंक तयार रहेको बताए। विश्व बैंक नेपालको प्रमुख सहायता प्रदान गर्ने साझेदार संस्था हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।