काठमाडौं– नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रक्रिया बहिस्कार नगरेको बताएका छन्। आफूहरु पार्टीको १०औं महाधिवेशनमा जानुपर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिँदा प्रदेश सभा बैठकमा सहभागी हुन नसक्ने भनेर पहिले नै जानकारी गराइसकेको कँडेलको भनाइ छ।
‘हामीले एमाले १०औं महाधिवेशनमा चितवन जानु पर्ने भएकाले उपस्थित हुन सक्दैनौं भनेर भनेका थियौं। त्यसैको मौका छोपेर मुख्यमन्त्रीले विश्वासको मत लिनु भएछ,’ नेपाल लाइभसँग कुरा गर्दै कँडेलले भने, ‘महाधिवेसन छ भन्ने थाहा पाउँदा पाउँदै विश्वासको मत लिएर एमालेले संसद् बहिस्कार गर्यो भन्नु हास्यास्पद हो।’
मुख्यमन्त्री शाहीले एमाले महाधिवेसन सकिएपछि विश्वासको मत लिएको भए आफूहरु समेत सहभागी हुने कँडेलको भनाइ छ
मुख्यमन्त्री शाहीले बुधबार प्रदेश सभाबाट विश्वासको मत पाएका छन्। प्रदेश सभामा हाल कायम कूल ३५ सदस्यमध्ये २२ मत परेको हो। माओवादी केन्द्रका १२, कांग्रेसका ६ एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मत दिएका हुन्।
मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका १३ जना सांसद नै बैठकमा अनुपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।