काठमाडौं- कप्तान देव खनाल र आकाश त्रिपाठीको शतकीय साझेदारीमा लुम्बिनी प्रदेश वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।
लुम्बिनीले आफ्नो लिगको अन्तिम खेलमा प्रदेश २ लाई ९ विकेटले हराउँदै शीर्षस्थानमा रहँदै फाइनलमा स्थान बनाएको हो।
१ सय ६९ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले २६.५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।
लुम्बिनीको जितमा ओपनर खनाल ६२ रनमा अविजित रहे। उनले ८९ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यता, ओपनर आकाश त्रिपाठीले ५७ रन बनाए। विकेटकिपर प्रज्वल थापा १३ रनमा अविजित रहे। पहिलो विकेटका लागि देव र आकाशले १ सय ४१ रनको शतकीय साझेदारी गरेका थिए।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको प्रदेश २ ३९.५ ओभरमा १ सय ६८ रनमा अल आउट भयो ।
प्रदेश २ का ओपनर सन्तोष कार्कीले सर्वाधिक ८२ रन बनाए। उनले ९२ बलमा ७ चौका र ५ छक्का प्रहार गरे।
तर, अन्य ब्याटर चल्न सकेनन्। गुलशन झाले ३२ र आदिल अन्सारीले २२ रन बनाउँदा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
लुम्बिनी प्रदेशका बसिर अहमदले ५ विकेट लिए। उनले ७.५ ओभरमा ३ मेडनसहित २४ रन खर्चे। विशाल विक्रम केसीले ३ र राहुल चौधरीले २ विकेट लिए।
लुम्बिनी ६ खेलमा ५ जित र १ हारसहित १० अंक जोड्दै शीर्षस्थानमा छ।
सुदूरपश्चिम ५ खेलमा ३ जित र २ हारसहित दोस्रो स्थानमा छ। प्रदेश १ ५ खेलमा ३ जित र २ हा सहित तेस्रो स्थानमा छ। यी दुई टोली मध्य एकले फाइनलमा स्थान बनाउने बलियो सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।