काठमाडौं- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले वाम शक्तिबीचको एकतालाई 'दक्षिणपन्थी प्रतिक्रियावादी गठबन्धन'को आरोप लगाएका छन्।
आज एक विज्ञप्ति जारी गर्दै वैद्यले दक्षिणपन्थी बाटो हुँदै प्रतिक्रियायावादी कित्तामा गइसकेका शक्तिहरुको एकतालाई 'कम्युनिस्ट एकता' वा 'वामपन्थी एकता' भन्नु बिलकुल गलत रहेको बताएका छन्।
देश, जनता, सच्चा कम्युनिस्ट पार्टी र वामपन्थीहरुका विरुद्धको गठबन्धन भएको उनको भनाइ छ। 'यो एकताले एमालेको कथित देशभक्तिको र माओवादी केन्द्रको माओवादी जनयुद्धको आफू कथित उत्तराधिकारी भएको भन्ने मकुण्डोलाई उतारिदिएको छ,' उनले विज्ञप्तिमा भनेका छन्, 'उनीहरुको सक्कली चरित्र उदांग भएको छ।'
यो कार्यले सच्चा देशभक्त र प्रगतिशीलहरुका बीचमा संयुक्त मोर्चा र कम्युनिस्ट क्रान्तिकारीहरुका बीच पार्टी एकताका लागि ध्रुवीकरण पैदा हुने वातावरण सिर्जना भएको उनको दाबी छ। देशभक्त र क्रान्तिकारी शक्तिका बीचमा व्यापक संयुक्त मोर्चा र सच्चा कम्युनिस्टहरुका बीचमा पार्टी एकता गर्न लागि उनले आह्वान गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।