काठमाडौं– युट्युबमा रिलिज भएसँगै नेपाली फिल्म ट्रेन्डिङमा पर्नु अब नौलो कुरा रहेन। मंसिर १२ मा युट्युबमा रिलिज भएको ‘हजार जुनीसम्म’ पनि युट्युबको ट्रेन्डिङमा परेको छ।
रिलिज भएको तीन दिनमा फिल्म युट्युबको पहिलो नम्बरमा ट्रेडिङमा परेको हो।
१३ भदौं २०७६ मा सिनेमा हलमा प्रदर्शनमा आएको फिल्मले बक्सअफिसमा नराम्रोसँग पछारिएको थियो।
‘नाइ नभन्नु ल’ सिरिजका निर्देशन विकास राज आचार्यको फिल्मप्रति हुने दर्शकको क्रेज यसमा देखिएन्। तर, युट्युबमा रिलिज हुँदा पनि फिल्मलाई राम्रो प्रतिक्रिया मिलेको छ।
आचार्यको निर्देशनमा बनेको फिल्ममा आर्यन सिग्देल, प्रियंका कार्की, सञ्चिता लुइटेल, स्वस्तिमा खड्का, सलोन बस्ने, अनुभव रेग्मी लगायतको अभिनय छ। अभिनेता अखिलेश प्रधानले यहि फिल्ममार्फत डेभ्यु गरेका थिए। विशाल चाम्लिङको लेखन तथा लगानीमा बनेको फिल्मको पटकथामा भने निर्देशक आचार्य र सामिस्य तिमिल्सिनाले काम गरेका थिए।
‘हजार जुनीसम्म’ पनि युट्युबको ट्रेन्डिङमा परेसँगै तीन वटा नेपाली फिल्महरु युट्युबको ट्रेन्डिङमा परेका छन्। दुई साताअघिबाट प्रदर्शनमा आएका अरु दुई नेपाली फिल्म ‘लम्फु’ र ‘यात्रा’ पनि अहिले युट्युबमा क्रमशः १७ औं र १९ औं नम्बरमा ट्रेन्डिङमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।