फाइल तस्बिर
काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेताहरुलाई नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरेका छन्।
मंगलबार सुवर्ण शमशेर पुस्तक विमोचन एवं नवनिर्वाचित जिल्ला सभापति तथा क्षेत्रीय सभापति सम्मान कार्यक्रममा प्रधानमन्त्री देउवाले अरुको पार्टीको चिन्ता नगर्न आग्रह गरेका हु्न्। उनले विगतका दिनमा पार्टीभित्रै अन्तरघात भएको स्मरण गर्दै अब एकताबद्ध भएर पार्टीलाई अघि बढाउनुपर्ने बताए। प्रधानमन्त्री देउवाले अरुको पार्टीमा आँखा लाउन छोडेर आफ्नो पार्टीलाई अरुकोभन्दा ठूलो पार्टी बनाउन जोड दिनुपर्ने बताए।
‘पार्टीलाई भोलिका दिनमा अगाडि बढाउनु छ। हामी सबै एक भएर जानुछ, एकजुट हुनुछ। तपाईंहरुलाई थाहै छ, सत्य कुरा लुक्दैन। पार्टीभित्रै अन्तरघात हुनेदेखि लिएर अनेक भए। आगामी दिनमा यो पार्टीलाई एकताबद्ध गरेर राम्रोसँग जाने पार्टीको निर्णयलाई मानेर अघि बढ्नुपर्छ,' देउवाले भने, 'हाम्रो पार्टी बनाउनेतिर लागौं, अरुको पार्टी कस्तो छ? आँखा धेरै लगाउनुपर्दैन, आफ्नो पार्टी बनाउनेतिर लागौं। अरुको पार्टीको चिन्ता उनीहरुलाई गर्न दिनुस् न किन हामी गर्ने? आफ्नो पार्टीको चिन्ता गरौँ, आफ्नो पार्टी बनाऔं। उहाँहरुको भन्दा ठूलो पार्टी बनाऔं।’
प्रधानमन्त्री देउवाले चाँडो गरिएको निर्णयले पछुताउनु पर्ने भन्दै कुनै पनि निर्णय गर्दा सोच विचार गर्नुपर्ने बताए। उनले नेतृत्व र निर्णय गर्ने अधिकार सबैको आउने भन्दै विश्वप्रकाश शर्मा र प्रकाश महतलाई नेतृत्व गर्न नहतारिन आग्रह गरे। प्रधानमन्त्री देउवाले बुढापाकाहरुलाई अर्ती दिनुभन्दा बुढापाकाबाट अर्ती लिन सुझाए।
प्रधानमन्त्री देउवाले राजनेता सुवर्ण शमशेर जबराले पार्टीका लागि र प्रजातन्त्रका लागि दिएको योगदानलाई बिर्सन नसक्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।