काठमाडौं– पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक (सिइओ) गोविन्द पोखरेल आगामी प्रतिनिधिसभा चुनावका लागि उम्मेदवार सिफारिस भएका छन्।
नेपाली कांग्रेस प्युठानले पोखरेलको नाम सर्वसम्वत सिफारिस गरेको हो। प्रतिनिधिसभामा प्युठान जिल्लालाई एउटा निर्वाचन क्षेत्र तोकिएको छ।
मंगलबार बसेको कांग्रेस जिल्ला समिति बैठकले पोखरेललाई सर्वसम्मतबाट उम्मेदवारको सिफारिस गरेको जिल्ला सभापति देवेन्द्र बर्माले जानकारी दिए।
पोखरेलका प्रेस सल्लाहकार दिनेश पाण्डेयका अनुसार उनी हाल सिफारिस मात्र भएकाले प्राधिकरणबाट अलग हुने तयारी गरेका छैनन्।
पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलपछि प्राधिकरणको जिम्मेवारीबाट अलग हुने विषयमा निर्णय लिने तयारीमा छन् पोखरेल। हाल उनी प्युठानमै छन्।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाको पालामा प्राधिकरणको सिइओ नियुक्त भएका पोखरेल केपी ओली नेतृत्वको सरकार आउनासाथ हटाइएका थिए। उनलाई पुष्पकमल दाहाल नेतृत्वको सरकारले तत्कालीन सिइओ सुशील ज्ञवालीलाई हटाएर पुनः नियुक्ति दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।