काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै राजनीतिक दलहरुले महाधिवेशन र सम्मेलन गरेर आगामी चुनावको तयारी गरेको बताएका छन्।
पार्टी केन्द्रीय सदस्य एवम् रुपन्देही इन्चार्ज रामप्रसाद बञ्जाडेको श्रद्धाञ्जली सभामा बोल्दै प्रचण्डले सबै पार्टीका महाधिवेशन र सम्मेलनले चुनावी तयारीको संकेत देखाएको बताए।
‘हामी निक्कै ठूलो अप्ठ्यारोबाट गुज्रिँदै देशलाई नयाँ राजनीतिक स्थायित्व र विकासतिर लाने जमर्को गर्दै छौं। सबै दलहरु महाधिवेशन, सम्मेलनहरु गर्दै चुनावको तयारी गरेको देखिन्छन्। त्यसले सिधै चुनावको माहोल बन्दैछ’ प्रचण्डले भने, ‘लोकतन्त्रका लागि चुनाव महत्वपूर्ण छ। चुनाव स्वच्छ, निष्पक्ष र धादलीरहित रुपमा जनताको पहुचमा हुनुपर्छ भन्ने कुरामा हामी सबैको ध्यान जानु पर्छ।’
सबै राजनीतिक दलहरुबीच आपसी समझदारी र सहकार्य गरेर मात्रै देशलाई राजनीतिक स्थायीत्वसँगै समृद्धितिर लैजान सकिने उनले बताए।
‘हामीले संविधान बनाउँदै गर्दा समाजवादउन्मुख राज्यको परिकल्पना गरेको थियौ। त्यहीँ समाजवादको यात्रामा सबै जनतालाई प्रशिक्षित गर्दै समृद्धिको नयाँ यात्रामा हिँडाउनु छ’ उनले भने, ‘त्यसका लागि सबै राजनीतिक दल , बुद्धिजीवी, पेशाकर्मी, पत्रकार लगायत सबै सचेत समुदायको साथ र सहयोगको खाँचो छ।’
रामप्रसाद बञ्जाडे निरकुशं राजतन्त्रात्मक अवस्थामा पार्टी, देश, जनताको पक्षमा जोखिम मोलेर लडेको योद्ध भएको प्रचण्डले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।