काठमाडौं– भारतले सन् १९८३ मा जितेको विश्वकप क्रिकेटको 'कथा'मा आधारित फिल्म ‘८३’को ट्रेलर सार्वजनिक भएको छ। रणवीर सिंह मुख्य भूमिकामा रहेको फिल्मको ट्रेलर मंगलबार सार्वजनिक गरिएको हो। उक्त फिल्ममा रणवीरले तत्कालीन भारतीय क्रिकेट टोलीका कप्तान कपिल देवको भूमिका निभाएका छन्।
भारतीय क्रिकेटको इतिहासमा 'रोमाञ्चक' रहेको १९८३ को विश्वकपको जितको सत्य घटनामा आधारित रहेर फिल्म बनेको छ। ट्रेलर सार्वजनिक भएसँगै यसले रणवीरको अभिनय र फिल्ममा सत्य घट्नाको दृश्यांकनलाई लिएर राम्रो प्रतिक्रिया पाएको छ।
कबिर खानको निर्देशनमा बनेको फिल्ममा भारतको ऐतिहासिक जितसँगै त्यो बेलाका अन्तरवस्तुलाई चित्रण गरिएको छ। फिल्ममा रणवीरसँगै दीपिका पादुकोण पनि मुख्य भूमिकामा देखिएकी छिन्। उनले फिल्ममा कप्तान कपील देवकी श्रीमती रोमी भाटियाको भूमिका निभाएकी छिन्।
आफूले नेतृत्व गरेको खेलमाथि आधारित रहेर बनेको फिल्मको ट्रेलरलाई लिएर कपिल देव स्वयःले पनि प्रतिक्रिया दिएका छन्। उनले ट्रेलर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सेयर गरेर ‘मेरो टिमको कहानी हो’ भन्दै खुसी व्यक्त गरेका छन्। यता फिल्ममा उनको भूमिकामा देखिएका रणवीरले पनि सामाजिक सञ्जालमा फिल्मको एक तस्बिर राख्दै लेखेका छन्, ‘अण्डरडग्सको अविश्वनिय सत्य कथा, जसले अल्पनीय काम गरे।’
मंगलबार ट्रेलर सार्वजनिक भएको फिल्म २४ डिसेम्बरमा विश्वव्यापी रुपमा प्रदर्शनमा आउँदै छ। फिल्म हिन्दीसँगै तमिल, तेलगु, कन्नड र मलयालम भाषामा प्रदर्शन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।