काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई सम्झौताअनुसार सेवासुविधा नदिने कम्पनीहरुलाई कालोसूचीमा राखिने बताएका छन्।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुसँग वैदेशिक रोजगारी र पुन:एकीकरणबारे मन्त्रालयमा आज भएको छलफलमा मन्त्री श्रेष्ठले अब त्यस्ता कम्पनीहरुमा कामदार नपठाइने बताए।
वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुले कोरोना महामारीका कारण रोजगारी गुमाएर फर्कंदा बाँकी पारिश्रमिकसमेत नपाएको गुनासो गरेका थिए। उनीहरुले सम्झौताअनुसार काम र पारिश्रमिक नपाएको, बिरामी हुँदा उपचार नपाएको तथा नेपाल फर्कनुपर्दा चन्दा सङ्कलन गर्नुपरेको बताएका थिए।
साथै, उनीहरुले हातमा सीप नहुँदा विदेशी भूमिमा दु:ख पाएको र अन्य देशका श्रमिकसरह सुविधा नपाएको पनि गुनासो गरेका थिए। गैरकानुनी बाटोबाट गएका घरेलु कामदारहरुले न्यून तलबमा काम गर्नुपरेको तथा हिंसाको सिकार भएको गुनासो गरेका थिए।
कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरुका साथै आप्रवासी कामदारको पक्षमा काम गरिरहेका संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता थियो। कार्यक्रममा मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीबाट फर्किने श्रमिकलाई पुनर्मिलन, सामाजिक तथा आर्थिक सशक्तीकरण गर्दै अगाडि बढाउने सरकारको योजना रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।