चितवन- नेकपा एमालेको अध्यक्षका लागि उपाध्यक्ष भीम रावलले उम्मेदवारी दर्ता गरेका छन्। चितवनको सौराहामा जारी एमाले १०औं अधिवेशनमा सोमबार बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन्।
यसअघि अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत गर्ने भन्दै पदाधिकारीसहित केन्द्रीय सदस्यको नाम प्रस्ताव गरे पनि भीम रावललगायत नेता असहमत भएकाले निर्वाचन हुन लागेको हो।
बिहान ८ बजेदेखि सुरु भएको उम्मेदवारी दर्ता कार्यक्रममा हालसम्म भीम रावलले अध्यक्षमा, युवराज ज्ञवालीले उपाध्यक्ष र प्रदीप ज्ञवालीले उपमहासचिव र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गरिसकेको निर्वाचन समितिले जनाएको छ। अन्यले पनि उम्मेदवारी दिने क्रम जारी रहेको समितिका अध्यक्ष विजय सुब्बाले बताए।
बिहान ८ बजेदेखि ९:२० बजेसम्म उम्मेदवारलाई फारम वितरण गरिनेछ भने ८ बजेदेखि बिहान ९:३० बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। बिहान १०:३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले जानकारी दिए। बिहान १०:३० देखि १०:४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ भने १०:५० बजे उजुरीउपर छानबिन र निर्णय हुने कार्यतालिका छ।
बिहान ११:५५ देखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ। १२:५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने र साँझ ९ बजेदेखि मात्रै मतदान सुरु हुने कार्यतालिका रहेको छ।
मतदानको समय मङ्गलबार बिहान ३ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि मतगणना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।