काठमाडौं– दक्षिण अफ्रिका भ्रमणमा रहेको नेदरल्याण्ड्स क्रिकेट टोलीले बाँकीका खेल नखेल्ने भएका छन्। अफ्रिकी महादेशमा कोरोनाको नयाँ भेरियन्ट संक्रमितको संख्या बढ्दै गएपछि नेदरल्याण्ड्सले एकदिवसीय सिरिज अन्तर्गतका बाँकी दुई खेल नखेल्ने निर्णय गरेको हो।
सेन्चुरियनमा शुक्रबारको पहिलो एकदिवसीय खेल वर्षाका कारण रद्द भएको थियो। त्यसपछि दुवै बोर्डले २४ देखि ४८ घण्टामा सिरिजबारे निर्णय गर्ने घोषणा गरेका थिए। यद्यपि, नेदरल्याण्ड्स टोली दक्षिण अफ्रिकामा नै बस्ने भएको छ।
नेदरल्याण्ड्सको टोलीले डिसेम्बर ३ अघि उडान पाउने छैन। यता, दुईवटा उडानमार्फत् दक्षिण अफ्रिकादेखि नेदरल्याण्ड्सको राजधानी आम्सटर्डम आइपुगेका १३ जना यात्रुमा कोरोनाको संक्रामक भेरियन्ट संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण भएका ६१ यात्रुमध्ये १३ जनामा नयाँ भेरियन्ट भेटिएको हो। आफ्नो मुलुकका आइपुगेका यात्रुमा नयाँ भेरियन्ट भेटिएपछि नेदरल्याण्ड्सले प्रतिबन्धमा थप कडाइ गरेको छ। यता, अतिथि सत्कार हुने ठाउँहरु, सांस्कृतिक कार्यक्रमका थलोहरु र घरमै बढी मानिस भेला हुनसमेत रोक लगाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।