काठमाडौं– भारतीय क्रिकेट टोलीको डिसेम्बर–जनवरीमा हुने भनिएको दक्षिण अफ्रिका भ्रमणलाई लिएर अहिले अन्योलता छाएको छ।
अफ्रिकी महादेशमा कोरोनाको नयाँ भेरियन्ट संक्रमितको संख्या बढ्दै गएपछि भारतीय टोलीलाई दक्षिण अफ्रिका भ्रमणका लागि विशेष सरकारी अनुमति चाहिने बताइएको छ।
यद्यपि, दुई देशबीचको सीमानाहरू हाल खुला छन् र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना अधिकारीहरूलाई यात्रा नियमहरूको समीक्षा गर्न निर्देशन दिएका छन्।
नेदरल्याण्ड्सको टोली हाल एकदिवसीय सिरिज खेल्न दक्षिण अफ्रिकामा छ, उसले अरु बाँकी दुई खेल स्थगित गर्ने निर्णय गरिसकेको छ।
जिम्बावेमा हुने महिला एकदिवसीय विश्वकप छनोटका पूरै स्थगित भएको छ। तर, भारत ‘ए’ र दक्षिण अफ्रिकाबीचको रातो बलको शृंखला अझै जारी छ। यस शृङ्खलाका तीनमध्ये दुई खेल अझै बाँकी छन्।
भारत ‘ए’ स्वदेश नफर्किनुको अर्थ सिनियर टोलीले पनि त्यसैलाई पछ्याउने हो। तर, अधिकांश देशहरूले अब दक्षिण अफ्रिकी क्षेत्रमा यात्रा प्रतिबन्धहरू लगाइरहेका छन्।
बेलायत, संयुक्त राज्य अमेरिका, युरोप र अष्ट्रेलियाले यस क्षेत्रको यात्रामा प्रतिबन्ध लगाएका छन्। दक्षिण अफ्रिकी सरकारले ती प्रतिबन्धहरू उल्टाउन अनुरोध गरिरहेको छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का कोषाध्यक्ष अरुण धुमालले भने, ‘बीसीसीआईले कुनै पनि निर्णय हतारमा गर्दैन। हामी स्थितिलाई नजिकबाट नियालिरहेका छौं र खेलाडीहरूको सुरक्षा बीसीसीआई र सीएसए दुवैको लागि महत्त्वपूर्ण छ। दुवै बोर्डहरू नजिकको सम्पर्कमा छ। उनीहरूले छिट्टै अन्तिम निर्णय लिनेछन्। हामी भारत सरकारको यात्रा निर्देशनहरू पालन गर्नेछौं।’
बीसीसीआईका पूर्वअध्यक्ष तथा देशका खेलकुदमन्त्री अनुराग ठाकुरले समाचार एजेन्सी एएनआईलाई भने, ‘यस्तो अवस्थामा हरेक बोर्डले भारत सरकारबाट अनुमति लिनुपर्छ।’ डिसेम्बर १७ देखि जनवरी २६ सम्म चल्ने भारतको दक्षिण अफ्रिका भ्रमणमा तीन टेष्ट, तीन एकदिवसीय र चार टी२० खेल हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।