काठमाडौं– सिनेमा हलमा प्रदर्शन हुँदा ‘यात्रा’ र ‘लम्फु’ यी दुवै फिल्मले नराम्रोसँग मात खाएका थिए। २०७५ वैशाखमा सिनेमा हलमा प्रदर्शनमा आएको फिल्म ‘लम्फु’ले व्यापार राम्रोसँग गर्न सकेको थिएन भने २०७५ चैतमा प्रदर्शनमा आएको फिल्म ‘यात्रा’ले पनि सिनेमा हलमा राम्रो व्यापार गर्न सकेको थिएन।
तर, अहिले युट्युबमा प्रदर्शन सुरु भएपछि भने दुवै फिल्म ट्रेण्डिङमा पर्न सफल भएका छन्। ११ दिनअघि प्रदर्शनमा आएको ‘लम्फु’ अहिले युट्युबमा छैटाैं नम्बरमा ट्रेण्डिङमा छ भने यात्रा सातौं नम्बरमा।
सिनेमा हलमा दर्शकले नरुचाएको फिल्मलाई युट्युबमा सार्वजनिक भएपछि भने सकरात्मक प्रतिक्रिया मिलेको छ। २६ असोजमा युट्युबमा रिलिज आएको फिल्म ‘यात्रा’मा सलिनमान बानियाँ र मलिका महत मुख्य भूमिकामा छन्। सांगितिक प्रेम जन्रको फिल्ममा महत र बानियाँसँगै सलोन बस्नेत पनि मुख्य भूमिकामा छन्।
पछिल्लो समयमा म्युजिक भिडियोमा चर्चित बनेकी मोडल तथा अभिनेत्री महिला महतको यो डेब्यू फिल्म थियो।
सम्राट शाक्यको लेखक तथा निर्देशनमा बनेको यो फिल्मले प्रदर्शन ताका राम्रो प्रतिक्रिया पाएको थिएन्। प्रचार प्रसारमा पनि राम्रै मिहेनत गरिएको फिल्म जब प्रदर्शन भयो तब भने फ्लप भएको थियो। तर, अहिले युट्युबमा प्रदर्शन भएपछि भने फिल्मले राम्रो प्रतिक्रियासहित सातौं नम्बरमा ट्रेण्डिङमा परेको छ।
अहिले युट्युबमा छैटौं नम्बर टे्रडिङमा रहेको फिल्म ‘लम्फु’ पनि सिनेमा घरमा प्रदर्शन हुँदा नराम्रोसँग फ्लप भएको थियो। त्यत्ति बेला सामाजिक सञ्जालमार्फत चर्चामा आएकी कुसुम श्रेष्ठ (तरकारी वाली)लाई सिनेमामा डेब्यू गराइएको फिल्ममा मरिस्का पोखरेल, सलोन बस्नेत र कविर खड्का मुख्य भूमिकामा छन्।
तरकारीवालीको चर्चालाई लिएर व्यवसायिक हुने हेतुले निर्माण गरिएको फिल्मले हलमा राम्रो व्यापार नगरेपनि युट्युबमा भने राम्रो प्रतिक्रिया पाएको छ।
युट्युबमा फिल्म १६ लाखभन्दा धेरै पटक हेरिएको छ। फिल्मलाई गोपालचन्द्र लामिछानेले निर्देशन गरेका छन् भने फिल्मको संवाद तथा पटकथा भुपतीले लेखेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।