काठमाडौं– न्यायालयमा शुद्धीकरणका लागि भन्दै आन्दोलनमा रहेको नेपाल बार एसोसिएसनले नेकपा (एकीकृत समाजवादी)लाई ज्ञापन पत्र बुझाएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाअभियोग लगाउन माग गर्दै बारले आइतबार सत्तारुढ गठबन्धनको एक पार्टी एकीकृत समाजवादीलाई ज्ञापन पत्र बुझाएको हो।
बारले विभिन्न दलहरुलाई बुझाउँदै आएको ज्ञापन पत्रमा प्रधानन्यायाधीश राणालाई हटाउनुपर्ने १७ वटा 'कारण' उल्लेख गरेको छ।
आइतबार बारको ज्ञापन पत्र बुझ्दै एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्तारुढ गठबन्धनमा छलफल गरेर ज्ञापन पत्रबारे साझा धारणा बनाइने बताए।
प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै ११ कात्तिकदेखि आन्दोलनमा रहेको बारले यसअघि सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी लगायतलाई ज्ञापन पत्र बुझाइसकेको छ।
प्रधानन्यायाधीश राणामाथि महाअभियोगको माग गर्दै बारले सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनालाई पनि ज्ञापन पत्र बुझाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।