काठमाडौं- नेपाली महिला क्रिकेट टोलीको २०२३ मा हुने टी-२० विश्वकप खेल्ने सम्भावना समाप्त भएको छ। आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटको अन्तिम खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएपछि अघिल्लो चरणको सम्भावना सकिएको हो।
यूएई अपराजित रहँदै एसिया क्षेत्रबाट आगमी वर्ष हुने टी-२० ग्लोबल छनोटमा पुगेको छ।
यूएई पाँच खेलमा १० अंकका साथ ग्लोबल छनोटमा पुगेको हो। नेपाल समान खेलमा तीनमा जित र दुईमा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रहेर बाहिरियो।
यूएईले दिएको १२८ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १९.४ ओभरमा ७९ रनमा अलआउट भयो।
नेपालकी ओपनर इन्दु वर्माले १५ रन बनाइन्। सीता रानामगरले १३ रन बनाउँदा अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सरिता मगर र काजल श्रेष्ठले ८/८ रन बनाइन्। कविता कुँवर र अप्सरा बेगमले ४/४ रन बनाउँदा रुविना क्षेत्री वेलवासे, करुणा भण्डारीले २/२ रन बनाइन्।
यूएईकी समायरा धरणीरकाले सर्वाधिक ४ विकेट लिइन् । खुशी शर्मा र चमानी सेनेविरत्नेले २–२ विकेट लिइन्। चया मुगलको नाममा १ विकेट रह्यो।
त्यसअघि आईसीसी एकेडेमी ग्राउण्ड नम्बर २ मा टस हारेर ब्याटिङ थालेको यूएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनाएको थियो।
यूएईकी मध्यक्रमकी चमानी सेनेवित्नेले सर्वाधिक ५२ रन बनाइन्। ओपनर थ्रीथा सतिस ४७ र काभिसा इगोडागे २२ रनमा आउट भइन्।
नेपालका कविता कुँवरले २ विकेट लिइन्। सवनम राई, सीता रानामगर र संगीता राईले १-१ विकेट लिइन्।
नेपाल पहिलो खेलमा हङकङसँग ६ विकेटले पराजित भएको थियो। भुटानलाई ८ विकेटले हराएको नेपालले कुवेतलाई ९ र मलेसियालाई ६ विकेटले हराएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।