काठमाडौं- आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई लक्षित गरी भएको वामपन्थी दलहरुको एकतापछि निर्माण भएको गठबन्धनले दुई निर्वाचन चिह्नमा भाग लिने निश्चित भएको छ।
गठबन्धनले नेकपा एमालेको चुनाव चिह्न सूर्य र माओवादी केन्द्रको हसिँया हथौडा लिएर दुवै तहको निर्वाचनमा भाग लिनेछ।
सहमति अनुसार ६०-४० प्रतिशतका आधारमा कुन जिल्लामा कसले कति सिट पाउने भन्ने विषयमा नेताहरु आन्तरिक छलफलमा ब्यस्त छन्।
तर, सहमति हेर्दा ७ प्रदेशमा प्रतिनिधिसभामा कायम रहेको कुल १ सय ६५ सिटमध्ये ९९ र ६६ मा भाग लाग्ने देखिन्छ। प्रतिनिधिसभामा एमालेको सूर्य ले ९९ र माओवादीको हसिँया हथौडाले ६६ उम्मेदवार पाउनेछ।
७५ जिल्लामा हुने निर्वाचनमा सूर्यबाट हृदयेश त्रिपाठीको समूह र बाबुराम भट्टराईको नयाँ शक्ति पनि लड्नेछन्। माओवादीको निर्वाचन चिह्नबाट भने प्रेमबहादुर सिंहको समाजवादी दल र लोकमणि ढकालको जन जागरण पार्टी पनि लड्नेछन्।
प्रदेशसभा निर्वाचनमा लागि ३ सय ३० सिट संविधानले तोकेको छ। त्यसमा सहमति अनुसार भागवण्डा गर्दा सूर्यमा १ सय ९८ र हँसिया-हथौडामा १ सय ३२ सिट बाँडिनेछ। तर, यसैभित्रै गठबन्धनमा जोडिएका अन्य दललाई पनि सिट संख्या मिलाउनुपर्नेछ।
सबै दललाई समेटेर जिल्लागत उम्मेदवारी मनोनयन गर्ने विषय प्राविधिक भएकाले संयुक्त बैठक बसेर मिलाउने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए। उनले आज र भोलिसम्ममा जिल्लागत उम्मेदवारीको छिनोफाने गर्ने पक्षमा आफूहरु रहेको जानकारी दिए।
हालसम्म एमालेले काठमाडौंका केही र जिल्लाका केही क्षेत्रमा नाम सिफारिस गरेको छ। तर, दलहरुको सहमतिमा उक्त सिफारिस फेरबदल हुन सक्ने एमालेका नेता योगेश भट्टराई बताउँछन्। एक भएर जाने सहमति भएकाले अहिले गरेको सिफारिसले फरक नपर्ने उनको तर्क छ।
हालसम्म एमालेले काठमाडौं २, ३ र ४ मा उम्मेदवार सिफारिस गरेको छ भने इलाम, झापामा पनि सिफारिस गरिसकेको छ। माओवादी केन्द्रले रोल्पा, रुकुम र गोर्खामा उम्मेदवार सिफारिस गरेको छ।
यसअघि भएका सिफारिसबारे पनि बैठकमा बहस हुने र प्रतिनिधिसभा र प्रदेशसभामा सबै पक्षलाई मान्य हुनेगरी जिल्लागत उम्मेदवारी टुंग्याउने श्रेष्ठले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।