काठमाडौं– लुम्बिनी प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ।
बागमती प्रदेशलाई ३ विकेटले पराजित गर्दै लुम्बिनीले तेस्रो जित हात पारेको हो। जितसँगै लुम्बिनीको फाइनलको सम्भावना बलियो भएको छ।
जितका लागि चाहिएको १ सय ९४ रन लुम्बिनीले ४६.५ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो। कप्तान देव खनालले सर्वाधिक ६७ रन बनाए।
यता, प्रज्वल थापाले ३४ र वासिर अहमदले ३१ रन बनाए।
बागमतीका गौतम केसीले सर्वाधिक ३ विकेट लिए। प्रतिश जिसी, क्रिस कार्की र तिलक भण्डारीले एक–एक विकेट लिए।
यसअघि मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले ४७ ओभरमा सबै विकेट गुमाउदै १ सय ९३ रन जोडेको थियो।
बागमतीका लागि विवेक मगरले ४०, प्रशान्त महतले ३६ तथा विपिन शाहीले २४ रन जोडेका थिए।
लुम्बिनीका विशाल विक्रम केसीले सर्वाधिक ४ विकेट हात पारे।
यता, मोहम्मद हुसेन र कमल वलीले दुई–दुई विकेट लिए। दुर्गेश गुप्ता र राहुल चौधरीले एक–एक विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।