काठमाडौं– दक्षिण कोरियाली वेब सिरिज ‘स्क्विड गेम’ले विश्वभर नै निकै चर्चा कमाएको थियो। सिरिजले व्यवसायिक रुपमा सफलतासँगै आलोचनात्मक रुपमा पनि उत्तिकै सफलता पाएको थियो।
तर, उत्तर कोरियाली सरकारले भने यसमाथि प्रतिबन्ध लगाएको थियो। किम जोन उन सरकारले यो सिरिजले दक्षिण कोरियाको पुँजीवादी व्यवस्थाको प्रचार गरेको भन्दै यसलाई प्रतिबन्ध लगाएको हो।
यसबीच ‘स्क्विड गेम’ एक व्यक्तिको मृत्युको कारण बनेको छ। सिरिजलाई पेन ड्राइभमा हालेर ‘स्मगलिङ’ गर्न खोज्ने एक व्यक्तिलाई उत्तर कोरियामा गोली हानेर हत्या गरिएको हो।
चीनबाट उत्तर कोरिया लगेर विद्यालयका विद्यार्थीहरुलाई यो सिरिज दिने व्यक्तिलाई गोली हानेर मारिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका हुन्। सँगै त्यहाँको सरकारले यो सिरिज हेर्ने विद्यार्थी र विद्यालयका शिक्षकलाई पनि सजाय सुनाएको छ।
रिपोर्टकाअनुसार एक छात्रलाई जन्मकैदको सजाय दिइएको छ भने अर्कालाई ५ वर्षको सजाय दिइएको छ। विद्यार्थीबाहेक विद्यालयका प्राध्यापक र शिक्षकहरुलाई पनि सजायस्वरुप विद्यालयबाट बर्खास्त गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।