काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए)को संरक्षक परिषद्ले संघको विवाद समाधान गरी छिट्टै निर्वाचन तथा महाधिवेशन गराउन पहल थालेको छ। परराष्ट्र मन्त्रालयले निर्वाचत गर्ने जिम्मेवारी दिएपछि पूर्वअध्यक्ष डा शेष घले नेतृत्वको संरक्षक परिषद्ले एनआरएनएको महाधिवेशन र निर्वाचनका लागि पहल थालेको हो।
परराष्ट्र मन्त्रालयले मंसिर ३ गते कुमार पन्त नेतृत्वको संघको कार्य समितिलाई निष्कृय गर्दै १०औं महाधिवेशन तथा निर्वाचन २०२१ भित्रै सम्पन्न गर्ने परिषद्लाई जिम्मेवारी दिएको थियो।
३ दिनअघि मन्त्रालय पुगेर पत्र बुझेका प्रमुख संरक्षक घलेले सरकारले दिएको जिम्मेवारीअनुसार निर्धारित मिति भित्रै पूरा गर्ने बताएका छन्। 'संघको विधानअनुसार सरकारले जुन जिम्मेवारी दिएको छ, त्यसलाई संरक्षक परिषद्ले पूरा गर्ने छ,' घलेले भने।
परराष्ट्र मन्त्रालयबाट पत्र बुझेलगत्तै घलेकै अध्यक्षमा संरक्षक परिषदको बैठक बसेको छ। पाँच सदस्यीय संरक्षक परिषद्मा पूर्व अध्यक्षहरु जीबा लामिछाने, रामप्रताप थापा, देवमान हिराचन र भवन भट्ट सदस्य रहेका छन्।
५ सदस्यीय संरक्षक परिषद्का ४ सदस्यले एक मतले सरकारले दिएको जिम्मेवारी पूरा गर्दै संघलाई पुनः लयमा फर्काउने धारणा व्यक्त गरेका थिए। परिषद्कै एक सदस्य तथा पूर्व अध्यक्ष लामिछानेले भने पन्त नेतृत्वको समितिले नै चुनाव गराउनु पर्ने धारणा राखेका थिए।
महाधिवेशन प्रतिनिधि चयनमा देखिएको विवाद सुल्झाउन नसकेपछि अक्टोबर २० का लागि तोकिएको संघको निर्वाचन रोकिएको थियो। निर्वाचन रोकिएपछि पन्त नेतृत्वको आईसीसीले आफ्नो कार्यकाल आफैं ६ महिना थप गरेको थियो।
प्रमुख संरक्षक घलेले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को केन्द्रीय सचिवालयलाई पनि आफू मातहत ल्याएका छन्। परराष्ट्र मन्त्रालयको पत्र बुझेलगत्तै घलेले संघको केन्द्रीय सचिवालयका प्रमुख कार्यकारी अधिकृत राजेश राणालाई पत्र लेखी सचिवालयमा रहेका कुनै कागजात तथा सूचना आफ्नो सहमति बिना कसैलाई पनि उपलब्ध नगराउन र जुन जे अवस्थामा छ, त्यही अवस्थामा सुरक्षित राख्न निर्देशन दिएका छन्।
पन्त नेतृत्वको कार्य समितिले नेपाल बार एसोसिएसनका महासचिव लीलामणि पौडेलको संयोजकत्वमा सात सदस्यीय निर्वाचन समिति गठन गरेको थियो। पन्त नेतृत्वको आईसीसीले विवाद समाधान गरी निर्वाचन गराउन नसकेपछि कामबिहीन भएको पौडेल नेतृत्वको निर्वाचन समितिलाई निर्वाचनको जिम्मेवारी दिने प्रमुख संरक्षक घलेको तयारी छ।
प्रमुख संरक्षक घलेले बुधबार र बिहीबार गरी निर्वाचन समितिका संयोजक तथा सदस्यहरुसँग अनौपचारिक छलफल गरेका छन्। पौडेल नेतृत्वको निर्वाचन समितिले निर्वाचनको तयारी गरिसकेकाले सोही समितिलाई नै निर्वाचन गराउने जिम्मेवारी दिँदा छिटो चुनाव गर्न सकिने घलेको भनाइ छ।
बार महासचिव पौडेल नेतृत्वको निर्वाचन समितिमा संघकै पूर्वअध्यक्ष तथा संरक्षक रामप्रताप थापा, डा. गणेश गुरुङ, डा. देवकाजी डंगोल, चिरन्जीवी ढकाल, डा. विष्णुमाया परियार सदस्य रहेका छन् भने भूषण घिमिरे समितिका सदस्य सचिव छन्।
विवाद समाधानको मोडालिटी तयार पारेर छिट्टै निर्वाचनको मिति घोषणा गर्ने गरी तयारी अगाडि बढाइएको संरक्षक परिषद्का एक सदस्यको भनाइ छ। सरकारले तोके अनुसार नै आगामी डिसेम्बरभित्रै निर्वाचन गराउने गरी तयारी थालिएको ती सदस्यले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।