काठमाडौं– सोनु अन्सारीको शतकमा प्रदेश १ ले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश २ लाई ७ विकेटले पराजित गरेको छ।
प्रदेश २ ले दिएको २ सय १२ रनको लक्ष्य प्रदेश १ ले ४४.१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो।
प्रदेश १ लाई जित दिलाउन सोनुले १ सय १९ रनको अविजित इनिङ्स खेले। उनले १ सय ४५ बलमा १४ चौका र ३ छक्का प्रहार गरे।
जारी प्रतियोगितामा यो दोस्रो शतक हो। यसअघि सुदुरपश्चिमका अर्जुन साउदले प्रदेश २ विरुद्ध नै शतक प्रहार गरेका थिए। यता, दिपेश कँडेलले ३३ र विवेक आनन्द मेहताले २४ रन जोडे।
प्रदेश २ का लागि विवेक यादव, प्रदिप पासवान र तृत राज दासले एक/एक विकेट लिए।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको प्रदेश २ ले ४८.२ ओभरमा अलआउट हुँदै २ सय ११ रन बनाएको थियो।
प्रदेश २ का लागि कप्तान विवेक यादवले सर्वाधिक ७० रनको योगदान गरे।उनले ७१ बलमा ४ चौका र ६ छक्का प्रहार गरे।
रोहन विकले ४७, समसद मनसुरीले १६, आदिल अन्सारीले १३ र प्रदिप पासवानले १० रन बनाए।
प्रदेश १ का लागि दिपेश कँडेलले सर्वाधिक ३ विकेट लिए। दिपक जोशी र गौरव कटुवालले समान दुई–दुई विकेट लिए। अभिनय राजवंशीले एक विकेट हात पारे।
प्रदेश १ को यो लगातार तेस्रो जित हो। यस जितसँगै प्रदेश १ ले फाइनल प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।
यसअघि प्रदेश १ ले कर्णाली प्रदेशलाई ७६ रन तथा बागमती प्रदेशलाई २६ रनले पराजित गरेको थियो।
प्रदेश २ ले आफ्नो पहिलो खेलमा सुदुरपश्चिमलाई २ विकेटले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।