काठमाडौं– मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल पुनः विभाजन भएको छ। पटक–पटक विभाजन ब्यहोर्दै आएको मसाल फेरि विभाजित भएको हो। मसलाबाट छुट्टिएर सन्तबहादुर नेपालीले नेकपा मसाल समन्वय समिति बनाएका छन्।
पार्टी नीति, सिद्धान्त र विचार विपरीत गएको भन्दै सिंहले तत्कालीन राष्ट्रिय जनमोर्चाका महासचिव सन्तबहादुर नेपालीलाई कारबाही गरेका थिए।
नेपालीलाई कारबाही गरेपछि उनले आफ्नो पक्षको गत बुधबार र बिहीबार चितवनमा भेला बोलाएर छुट्टै पार्टी बनाउने अवस्थामा पुगेका हुन्। २०६४ को पहिलो संविधानसभा सदस्य समेत रहेका नेपालीले दर्जन नेताहरुलाई समेटेर नयाँ पार्टी बनाउन लागेका हुन्।
जसमा कृष्णराज पौडेल, विमल शर्मा, रामबहादुर बुढा, ओमबहादुर केसी, गौरीलाल कार्की, लालबहादुर जार्गी, लोकेन्द्र लम्साल लगायत नेताहरु छन्। तत्कालीन राष्ट्रिय जनमोर्चाका महासचिव एवं मसालका नेता नेपालीले आफ्नो नेतृत्वको पार्टी आगामी बुधबार घोषणा गर्ने एक नेताले बताए।
‘पार्टीलाई क्रान्तिकारी बनाउनुपर्छ भनिरहने संसद् र सरकारमा पनि सँधै गइरहने भयो। यस्तो तरिकाले एमाले–माओवादी केन्द्रभन्दा के फरक भयो भनेर अन्तरसंघर्ष चलि नै रहेको थियो’ ती नेताले भने, ‘केपी ओली नेतृत्वको पहिलो सरकारमा पार्टी सरकारमा गएपछि त्यसले झन्न ठूलो रुप लियो। त्यसपछि अहिलेको अवस्थामा पुग्यो।’
देशमा क्रान्ति गर्न विचार र व्यवहारमा एकरुपता भए मात्रै सही सावित हुने ती नेताको टिप्पणी छ। तर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पार्टीले कारबाही गरेका नेताले नयाँ पार्टी बनाउँदा मसाल फुट्यो भन्न नमिल्ने तर्क गरिन्।
‘सन्तबहादुर नेपाली लगायत केही साथीहरूलाई पार्टीले तीन वर्षअघि कारबाही गरेको हो। उहाँहरूलाई पार्टीले कारबाही गरेपछि पार्टी सदस्य हुने कुरा भएन’, पौडेलले भनिन्,‘पार्टीमै नभएकाले नयाँ पार्टी बनाएपनि त्यसको अर्थ हुँदैन। जे मन लाग्छ त्यही गर्दा भयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।