काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल)का आठ पुराना टोलीले अर्को वर्ष लिलामीअघि अधिकतम ४ खेलाडी 'रिटेन' (राख्न) गर्न पाउने भएका छन्।
आईपीएल २०२२ को मेगा लिलामीको लागि कुनै मिति तोकिएको छैन। यद्यपि, आठ पुराना टिमले ४ खेलाडीमात्रै रिटेन गर्न पाउने भएका हुन्। यता, दुई नयाँ टोलीलाई ३ खेलाडी थप्न अनुमति दिइएको छ।
यस मेगा लिलामीका लागि सबै टोलीसँग लगभग ९० करोड भारु पर्समा हुनेछ। यसअघि अर्थात् २०२१ को मेगा लिलामीमा हरेक टोलीले ८५ करोडमात्रै खर्च गर्न पाउने नियम बनाइएको थियो।
यसपटक हरेक टोलीले अधिकतम ३ भारतीय खेलाडी रिटेन गर्ने सम्भावना छ। यदि यस्तो भएको खण्डमा हरेक टोलीले एक वा दुई विदेशी खेलाडीमात्रै रिटेन गर्ने छन्। यसपटक आईपीएल टोलीहरूसँग 'राइट-टू-म्याच कार्ड' हुने छैन। जसको प्रयोग गरेर कुनै पनि टोलीले लिलामीपछि पनि आफ्ना पुराना खेलाडीहरू रिटेन गर्न पाउनसक्थ्यो।
आईपीएल गभर्निङ काउन्सिलले यस हप्ता फ्रेन्चाइजी टोलीहरूलाई यी नियमहरूका बारेमा जानकारी दिइसकेको छ।
लखनऊ र अहमदाबादका नयाँ फ्रेन्चाइजीलाई दुई भारतीय खेलाडी र एक विदेशी खेलाडी थप्न अनुमति दिइनेछ।
यदि कुनै खेलाडी लिलामीमा जान चाहन्छन् भने उनीहरूलाई छुट दिइनेछ। आईपीएलले रिटेन्सन नियमहरू घोषणा गर्न बाँकी रहे पनि रिटेन्सनका लागि खेलाडीको नाम तोक्ने समयसीमा यही महिनाको अन्त्यसम्ममा हुने बुझिएको छ।
रिटेन गरिएका खेलाडीहरूमा पैसा खर्च गर्नसक्ने अधिकतम सीमा छ, जसको निर्णय आइपीएलले गर्न बाँकी छ। रिटेन गरिएका खेलाडीहरूमा खर्च भएको रकम लिलामीअघि टोलीको पर्सबाट काटिनेछ।
२०१८ मा मेगा लिलामी हुँदा टोलीहरूलाई ८० करोड भारुको सीमा तोकिएको थियो, जसमध्ये टोलीले रिटेन गरिएका खेलाडीहरूमा मात्रै अधिकतम ३३ करोड रुपैयाँ खर्च गर्नसक्थे। त्यतिबेला अधिकतम पाँच खेलाडीलाई रिटेनरसिप र राइट-टू-म्याच कार्डद्वारा फिर्ता गर्न सकिन्थ्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।