काठमाडौं– महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा चेन्नई सुपर किंग्सको प्रतिनिधित्व गरिरहने संकेत गरेका छन्। उनले आफ्नो अन्तिम टी–२० खेल चेपौक मैदानमा हुने आशा राखेका छन्।
यसअघि आईपीएल २०२१ को फाइनलमा कोलकाता नाइट राइडर्सविरुद्धको जितपछि धोनीले आगामी सिजनको बारेमा कुनै पनि निर्णय टोलीको हितलाई ध्यानमा राखेर गरिने बताएका थिए।
ठूलो लिलामी र प्रत्येक टोलीले चार खेलाडी मात्र राख्ने अनुमति दिएपछि खेलाडीको रूपमा उनको भविष्य अनिश्चित छ। यद्यपि, मालिक एन श्रीनिवासनले चेन्नई टोलीसँग धोनी कुनै न कुनै भूमिकामा जोडिने संकेत गरेका थिए।
फ्रेन्चाइजीद्वारा आयोजित एक कार्यक्रममा धोनीले भने, 'मैले सधैं मेरो क्रिकेटको योजना बनाएको छु। मैले भारतमा खेलेको अन्तिम एकदिवसीय खेल राँचीमा भएको थियो। आशा छ मेरो अन्तिम टी–२० चेन्नईमा हुनेछ, चाहे त्यो अर्को वर्ष होस् वा पाँच वर्ष पछि।'
धोनीले २००८ को पहिलो सिजनदेखि सुपर किंग्सको नेतृत्व गरेका थिए। र, उनले चारवटा आईपीएल उपाधि दिलाएका थिए। सुपर किंग्सले सन् २०२० बाहेक हरेक वर्ष प्लेअफमा स्थान बनाएको छ। यी १४ वर्षमा धोनी यो टिमसँग मात्र नभई यो शहरसँग जोडिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।