काठमाडौं– नियमित कप्तान टिम पेनमाथि महिला सहकर्मीलाई अश्लिल मेसेज पठाएको आरोप लागेपछि अस्ट्रेलियाको ४७औं टेस्ट कप्तानको रुपमा तीव्र गतिका बलर प्याट कमिन्स नियुक्त भएका छन्।
सन् २०१७ मा महिला सहकर्मीलाई आपत्तिजनक 'मेसेज' पठाएको विषय सार्वजनिक भएपछि पेन पछिल्लो समय विवादमा तानिएका थिए। बीबीसीकाअनुसार यो घटनामाथि क्रिकेट अस्ट्रेलियाले छानबिन गरिरहेको छ। उनले इङ्ग्ल्याण्डविरुद्ध एसेस सिरिज सुरु हुनुअघि राजीनामा दिएका हुन्।
स्टिभ स्मिथलाई कप्तानको रुपमा हेरिए पनि कमिन्सलाई उक्त जिम्मेवारी दिएको छ । स्मिथलाई उपकप्तानको जिम्मेवारी दिएको छ।
सन् २०१८ मा स्टिभ बल टेम्परिङ काण्डका कारण एक वर्षको प्रतिबन्धमा परेपछि पेनले अस्ट्रेलिया टेस्ट कप्तानीको जिम्मेवारी पाएका थिए।
स्मिथ प्रतिबन्धमा परेपछि सीमित ओभरको कप्तानी आरोन फिन्चले गरेका थिए। पेन अस्ट्रेलिया टेस्ट टोलीको ४६औं कप्तान हुन्।
एसेस सिरिज सुरु हुन दुई साता बाँकी रहँदा अस्ट्रेलियाले नयाँ कप्तान घोषणा गरेको छ। इङ्ग्ल्याण्ड र अस्ट्रेलियाबीचको पाँच टेस्ट खेलअन्तर्गत पहिलो खेल ८ डिसेम्बरदेखि दि गाब्बा ब्रिसबेनमा सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।