काठमाडौं- सन्जु सामसन इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ को लागि राजस्थान रोयल्सले रिटेन गर्ने पहिलो खेलाडी बनेका छन्। उनले यो हप्ता प्रतिसिजन १४ करोड भारुको सम्झौता स्वीकार गरेका हुन्। योसँगै उनले टोलीको कप्तानी गर्नेछन्।
राजस्थानले ३० नोभेम्बरको समयसीमा अघि राखिने खेलाडीको सूचीमा सामसन पहिलो नाम रहेको छ। विकेटकिपर ब्याट्सम्यान जोस बटलर, फास्ट बलर जोफ्रा आर्चर, अलराउन्डर लियाम लिभिङ्स्टन र अनक्याप्ड ओपनर यशस्वी जैसवाल बाँकी तीन स्थानका लागि बलियो दावेदार हुन्। नियमअनुसार एउटा फ्रेन्चाइजले दुई विदेशी खेलाडी मात्रै राख्न पाउँछ।
सन् २०१८ मा राजस्थानले ८ करोड तिरेर सामसनलाई आफ्नो टोलीमा समावेश गरेको थियो। उनलाई गत सिजन कप्तानीको जिम्मेवारी दिइएको थियो। तर, उनले टोलीलाई प्लेअफमा पुर्याउन सकेनन्। तर, उनले १३७ को स्ट्राइक रेटमा ४८४ रन बनाएर राम्रो प्रदर्शन गरे।
राजस्थानले बेन स्टोक्स (१२.१५ करोड), आर्चर (७.२करोड) र बटलर (४.४ करोड) खर्च गरेको थियो। आर्चर आईपीएल २०२० मा प्लेयर अफ द टुर्नामेन्ट भए। तर, यो सिजन उनी चोटका कारण बेञ्चमा बस्नुपरेको थियो। राजस्थान व्यवस्थापन आफ्ना स्टार फास्ट बलरलाई टिममा निरन्तरता दिन इच्छुक भए पनि उनको फिटनेस चिन्ताको विषय बनेको छ ।
बटलरले चाँडै नै सम्झौता पत्रमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको छ। तर, स्टोक्सको स्थिति स्पष्ट छैन। सुपरस्टार अलराउन्डरले स्टोक्सले सन् २०२१ मा क्रिकेटबाट ब्रेक लिएका थिए। उनी भर्खरै प्रशिक्षणमा फर्केका छन्।
आईपीएलको नियमअनुसार पुराना आठ टोलीले जम्मा चार खेलाडी राख्न सक्छन्, जसमध्ये बढीमा दुई विदेशी खेलाडी हुन सक्छन्। यस व्यवस्थाको लागत ४२ करोड भारु छ र लिलामीमा खर्च गर्न ४८ करोड बाँकी छ।
राजस्थानले २८ नोभेम्बरसम्ममा अन्तिम तीन रिटेन्सनहरू सील गर्ने अपेक्षा गरिएको छ। र, उनीहरूले सन्जु सामसनलाई १४ करोड भारु तिर्दै गर्दा राजस्थानको खाताबाट १६ करोड काटिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।