काठमाडौं– नागरिक अभियन्ता नारायण वाग्लेले प्रधानमन्त्री शेरबहादुर देउवालाई न्यायालयको समस्याप्रति बेवास्ता गरिरहने हो भने बुढानीकण्ठ फर्किन सुझाव दिएका छन्।
बिहीबार सर्वोच्च अदालतदेखि प्रधानमन्त्री निवास बालुवाटारसम्म आयोजित ‘न्याय मार्च’पछि सम्बोधन गर्दै उनले नाम नलिइ प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीको भूमिकाप्रति असन्तुष्टि पोखेका हुन्।
न्यायालयमा आन्दोलन चलेको एक महिना भइसक्दा पनि प्रधानमन्त्री देउवा सुतिरहेको भन्दै वाग्लेले भने, ‘एक महिनासम्म पनि बालुवाटारमा सुतेको सुत्यै छन्। सुतिरहने हो भने बुढानीलकण्ठ फर्किए हुन्छ।’
वाग्लेले आफूहरुकै आन्दोलनले बुढानीलकण्ठमा सुतिरहेका देउवालाई पानी छम्केर बालुवाटारमा ल्याएको स्मरण पनि गराए।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो क्रान्ति गरेको भनेर सधैं गफ गरे पनि आजभोलि दैनिक रुवाबासीको भाषण गर्ने गरेको वाग्लेको भनाइ छ। उनले जिम्मेवारी बोध गर्नुपर्ने उनले बताए।
न्यायपालिकालाई न्याय भन्ने तत्व नै नभएको चिज बनाइसक्दा पनि ‘फैसला गर्ने सबैले राजीनामा देऊ’ भनिरहेको भन्दै वाग्लेले ओलीप्रति रोष व्यक्त गरे।
‘न्यायपालिकाप्रतिको आफ्नो जवाफदेहीता र भूमिका बिर्सिने नेतालाई म भन्छु, तपाईं काठमाडौं नफर्किए हुन्छ। यही सोच्ने हो भने नजिकै देवघाट छ। नारायणी किनारबाट देवघाट जानुस्। पाँच लाख कार्यकर्ताले एकएक रुपैयाँ उठाए भने तपाईंलाई सुनको कमन्डलु किन्न पुग्छ’, उनले भने।
वाग्लेले नेपालको राज्य रुपान्तरणका क्रममा न्यायपालिकालाई जस्ताको तस्तै छोडिएको भन्दै राजनीति गर्छु भन्ने र देश बदल्छु भन्नेलाई न्यायपालिकालाई बदल्न आग्रह गरे।
वाग्लेले गत वर्ष प्रतिगमनको प्रतिरोधमा संगठित नागरिक आन्दोलनले जुन ठाउँमा तेस्रो जनआन्दोलनको घोषणा गरेको थियो, एक वर्षपछि फेरि आज त्यही ठाउँमा आइपुगेको भन्दै आफूहरुको तेस्रो जनआन्दोलनको घोषणाको औचित्य पुष्टि भएको बताए।
‘जुन राजनीतिक नेताहरुलाई हामीले नेपाल रुपान्तरण गर, राज्य प्रणाली बदल भनेर जिम्मेवारी दिएर पठाएका थियौं। सिंहदरबारको सिँढी चढेपछि हाम्रा शासकहरु जंगबहादुर राणा बन्न थाले। ‘जबरा’ बन्न थाले’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।