काठमाडौं- श्रीलंकाले वेस्टइन्डिजविरुद्धको पहिलो टेस्टमा फराकिलो जित हात पारेको छ। श्रीलंकाले वेस्टइन्डिजलाई १ सय ८७ रनले पराजित गरेको हो।
दोस्रो इनिङ्समा जितका लागि ३ सय ४८ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले १ सय ६० रन जोड्यो।
वेस्टइन्डिजका लागि नकरुमाह वोनरले अविजित ६८ रनको योगदान दिए। यता, जोसुआ डा सिल्भाले ५४ रन बनाए। अन्य कुनैपनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन्।
श्रीलंकाका लासिथ इम्बुल्डेनियाले सर्वाधिक ५ विकेट लिए। रमेश मेन्डिसले ४ विकेट लिए। प्रविन जयाविकरामाले एक विकेट लिए।
यसअघि गाले इन्टरनेशनल स्टेडियममा पहिलो इनिङ्समा श्रीलंकाले कप्तान दिमुथ कारुनारत्नेको १ सय ४७ रनको मद्दतमा ३ सय ८६ रन जोडेको थियो।
करुणारत्नेले ३ सय बलम १५ चौकासहित १ सय ४७ रनको शतकीय इनिङ खेलेका थिए।
यता, पाथुम निसांका ५६, धनन्जय डि सिल्भा ६१ र दीनेश चान्डिमलले ४५ रन बनाए।
वेस्टइन्डिजका रोश्टन चेशले सर्वाधिक ५ विकेट लिए। वारिकनले ३ र शेनन ग्रेबियलले २ विकेट लिए। दोस्रो टेस्ट नोभेम्बर २९ देखि सुरु हुनेछ।
पहिलो इनिङ्समा १ सय ५६ रनको अग्रता लिएको श्रीलंकाले दोस्रो इनिङमा १९१/४ को अवस्थामा इनिङ्स समाप्तिको घोषणा गरेको थियो। श्रीलंका कप्तान करुणारत्नेले सर्वाधिक ८३ रन बनाए। एन्जिलो म्याथ्युज ६९ रनमा अविजित थिए।
वेस्टइन्डिजका रेहकम कर्नवाल र जमेन वारिकनले २–२ विकेट लिए।
पहिलो इनिङ्समा वेस्टइन्डिज २ सय ३० रनमा अल आउट भएको थियो।वेस्टइन्डिजका कप्तान कार्लोस व्रेथवेट ४१, काइल मेयर्स ४५, जेसन होल्डर ३६ र कर्नवालले ३९ रन बनाए। श्रीलंका प्रविन जयविक्रमाले ४ र रमेश मेन्डिसले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।