काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनको सरकारले अर्को महिना आयोजना गर्ने ‘डेमोक्रेसी कन्फरेन्स’मा ताइवानलाई निम्तो दिएकोप्रति चीनले आपत्ति जनाएको छ।
चीनस्थित स्टेट काउन्सिल ताइवान मामिला कार्यालयले अमेरिकाको यो कदम गलत रहेको बताएको छ। अमेरिका र ताइवानबीच कुनै पनि आधिकारिक वार्ताको विरुद्धमा चीन रहेको छ।
रोयटर्स समाचार एजेन्सीका अनुसार डिसेम्बर ९ देखि १० सम्म हुने भर्चुअल सम्मेलनमा अमेरिकी विदेश मन्त्रालयले आधिकारिक रूपमा ११० जना सहभागीहरूलाई निम्तो दिएको छ।
अमेरिकी राष्ट्रपति वाइडेनले पनि ताइवानलाई सम्मेलनमा आमन्त्रित गरिसकेका छन्, तर अमेरिकाले यसलाई देशको रूपमा मान्यता दिएको छैन।
चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार ताइवान मामिला कार्यालयका प्रवक्ता सु फेंग्लियनले बुधबार एक पत्रकार सम्मेलनमा अमेरिकाले लोकतन्त्रको विषयमा ताइवानलाई सम्मेलन बोलाउनु ‘गल्ती’ भएको बताए।
‘हामी अमेरिका र ताइवानबीचको कुनै पनि आधिकारिक वार्ताको कडा विरोध गर्दछौं,’ उनले भने।
उनले अमेरिकी सरकारले ‘एक चीन नीति’ पालना गरेको र ताइवानको सवालमा अमेरिका र चीनले औपचारिक रूपमा तीन पटक संयुक्त विज्ञप्ति जारी गरेको पनि सम्झना गराए।
नोभेम्बर १६ मा चिनियाँ राष्ट्रपति सी चीनफिङ र अमेरिकी राष्ट्रपति वाइडेनबीच भर्चुअल सम्मेलन भएको थियो।
यस क्रममा चीनका शीर्ष नेताले केही अमेरिकीहरूले चीनलाई नियन्त्रण गर्न ताइवानलाई प्रयोग गरिरहेको चेतावनी दिएका छन्।
उनीहरुले भनेका थिए, ‘आगोसँग खेल्ने र जो आगोसँग खेल्छ उ जल्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।