काठमाडौं- शिवम् सिमेन्ट लिमिटेडले आबुखैरेनी, मुग्लिन, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ।
उक्त अन्तर्क्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गरिएको थियो। साथै, हरेक सहभागी निर्माणकर्मीहरुका लागि पाँच लाख रुपैयाँ बराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममार्फत् हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ।
'दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको हो,' कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुका लागि पाँच लाख बराबरको जोखिम वहन गर्ने गरी बिमा गरेको जनाएको छ। चरणबद्ध रुपमा देशका विभिन्न स्थानहरुमा नियमित अन्तर्क्रिया तथा बिमा कार्यक्रम गर्दै आइरहेको शिवमले हाल आबुखैरेनी, मुग्लिन, गोरखा, दमौली र डुम्रेका २६० निर्माणकर्मीहरुसँग परामर्श तथा बिमा कार्यक्रम सम्पन्न गरेको हो।
पहिलो चरणअन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा एक हजारभन्दा बढी निर्माणकर्मीहरुसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बिमा गराइसकेको कम्पनीका प्रतिनिधिले बताएका छन्। उक्त अन्तर्क्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरकहरु, उद्योगी, व्यवसायीलगायतका उपस्थिति रहेको थियो। शिवम् सिमेन्टले आगामी दिनहरुमासमेत शिवम् सिमेन्टका बिक्रेताहरुसँगको समन्वयमा यस अन्तर्क्रिया तथा नि:शुल्क बिमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।