काठमाडौं- प्रकाश जैशीको घातक बलिङमा कर्णाली प्रदेशले वाई–वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।
लुम्बिनी प्रदेशलाई १ सय ४० रनले पराजित गर्दै कर्णालीले पहिलो खेलमै जित हात पारेको हो।
२ सय ३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा अलआउट हुँदै ९२ रनमा समेटियो।
लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक २८ रन बनाए। यता, दुर्गेश गुप्ताले २० र आकाश त्रिपाठीले १५ रन जोड्दा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन।
लुम्बिनीलाई सस्तैमा समेट्न प्रकाश जैशीले सर्वाधिक ५ विकेट हात पारे। यता, युनिश सिंहले ३ तथा अनुज चनाराले २ विकेट लिए।
यसअघि कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनायो।
कर्णालीका लागि सुवास ऐयरले सर्वाधिक ७६ रन जोडे। उनले ९० बलमा ९ चौका र ३ छक्का प्रहार गरे।
यता, कप्तान निश्चल रावलले ४४ रनको योगदान दिए। सुवास र निश्चलले तेस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गरेका थिए।
विपिन रावलले ३२ तथा प्रकाश जैसीले २५ रनको योगदान गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।