मेट्रिक पास गरेपछि पढ्नका लागि म पहिलो पटक काठमाडौं जाने भएँ। मेरो लागि काठमाडौं कल्पनाको शहर थियो। किनभने म सुदूरपश्चिमका पहाडी जिल्ला बझाङ र डोटीसम्म मात्र पुगेको थिएँ। सवारी साधन नहुँदा जहाँ जान पनि हिँड्नै पर्थ्यो।
म महेन्द्र हाइस्कुल बएलपाटा अछाममा पढेँ। मेट्रिक परीक्षा यहाँबाट दिने व्यवस्था थिएन। परीक्षा दिन डोटीको सिलगढी जानुपर्थ्यो।
२०२० सालमा मेट्रिक दिने अछामका पाँच जना थियौँ। एकै पटक सबैले परीक्षा उत्तीर्ण नगरे पनि पछि सबै सफल भए। मैले चाहिँ एकै पटकमा मेट्रिक उत्तीर्ण गरेँ।
त्यसपछिको पढाइ अछाममा थिएन। पढ्नका लागि मैले काठमाडौं जाने निर्णय गरेँ। २०२१ सालमा म पहिलो पटक काठमाडौं जान भनेर घरबाट निस्किएँ। तर, काठमाडौं जाने साथी थिएनन्। म मुम्बई जान हिँडेकाहरूको पछि लागेको थिएँ। उनीहरू नौ जना थिए, कामका लागि मुम्बई हिँडेका।
हामी नौ दिन हिँडेर महेन्द्रनगर पुगेका थियौँ। बाटोमा बास बस्न घरहरू थिएनन्। खानेकुरा बाटोमै पकाएर खान्थ्यौँ। कतै जंगल, कतै ओडारमा बस्थ्यौँ। पौवासमेत थिएनन्। सुत्नका लागि दरी र चद्दर बोकेका थियौँ। बाटोमा त्यही ओछ्याएर सुत्थ्यौँ। ढुंगाको सिरानी हाल्नुपथ्र्यो।
लामो यात्रापछि महेन्द्रनगर पुग्यौँ। म पहिलो पटक तराई झरेको थिएँ। त्यति विशाल सम्म भूभाग मैले देखेकै थिएन। मेरो लागि त त्यो नै अनौठो थियो।
सिधै काठमाडौं जाने गाडी थिएन। कर्णाली नदीमा पुल बनेकै थिएन। महेन्द्रनगरबाट हामी टनकपुर गयौँ। मैले पहिलोपटक रेल र गाडी टनकपुरमा नै देखेको थिएँ। पहिला रेल अनि मात्र बस देखेँ। जे देखे पनि अनौठो मात्र।
त्यहाँबाट म पनि मुम्बई जाने टोलीसँग उतै लागेँ। हामी टनकपुरबाट रेलमा मुम्बई गएका थियौँ। पहिलो पटक रेल चढ्दा खूब आनन्द आएको थियो। टनकपुरबाट तीन दिनमा मुम्बई पुगियो। तर, सिधै मुम्बई जाने रेल पाइँदैन थियो। पहिला टनकपुरबाट बरेली पुग्यौँ। बरेलीमा फेरि टिकट काट्नु पर्यो। टनकपुरबाट बम्बई पुग्दा रेलको भाडा जम्मा भारू ३० लागेको थियो।
भारत जाँदा मैले एउटा अनौठो फूल पनि देखेँ। सेतो र कुनै हल्का नीलो थिए। मान्छेहरूलाई सोध्दा थाहा पाएँ, त्यो त सेतो गुराँस रहेछ। हाम्रोतिर रातो गुराँस मात्र हुन्थ्यो।
केही दिन मुम्बई घुमेँ। मसँग गएकाहरु मुम्बईमा चौकीदारी गर्थे। त्यहाँ अधिकांश नेपालीले गर्ने सबैभन्दा सम्मानित काम नै चौकीदारी थियो। केही दिन म उनीहरुसँगै बसेको थिएँ।
त्यति बेला मुम्बई शहर देख्दा आश्चार्य लागेको थियो। ठूला घरहरु थिए। गाडीको घुइँचो थियो। रेल चल्थ्यो। मैले कल्पनासमेत नगरेको शहरको दृश्य थियो त्यो। यसरी काठमाडौं देख्नुअघि नै मैले त्योभन्दा ठूलो मुम्बई शहर देखेको थिएँ।
केही दिनपछि त्यहाँबाट फेरि काठमाडौं फर्किएँ। मुम्बईबाट फर्किँदा पनि ठाउँठाउँमा रेल फेर्नु पथ्र्यो। मुम्बईबाट मुजफ्फपुरसम्म आएँ। त्यहाँबाट फेरि सुगौलीसम्म रेलमा नै पुगेँ। अनि रक्सौलबाट वीरगञ्ज आइपुगेँ। त्यहाँ एक दिन बसेँ। अर्को दिन बस चढेर काठमाडौं गएँ। त्यो बेला पृथ्वी राजमार्ग खुलेको थिएन। त्रिभुवन राजपथको बाटो हुँदै काठमाडौं पुगेको थिएँ।
बसले सुन्धारा लगेर छाडिदियो। त्यो ठाउँको नाम मलाई थाहा थिएन। पछि मात्र सुन्धारा भन्ने थाहा पाएको थिएँ। बसबाट ओर्लिएर म हिँड्न थालेँ। रानीपोखरी नजिक पुगेपछि त्यहाँ भेटिएका मान्छेलाई गणेशथान कता पर्छ भनेर सोधेँ। त्यो मान्छेले लालदरबारतिर देखायो। म त्यतै गएँ। तर, उसले त उल्टो बाटो पो देखाएको रहेछ।
लालदरबार नजिक भेटिएको मान्छेलाई पनि गणेशथान सोधेँ। ऊ अछामकै मान्छे रहेछ। मेरो बोलाइको शैलीले उसले म पनि अछामी नै रहेको ठम्याइहाल्यो।
‘कसलाई खोज्नुभएको हो?’ उसले सोध्यो। त्यति बेला काठमाडौं उस्तो भिडभाड थिएन। एकै ठाउँतिरबाट काठमाडौं आएका मान्छेहरू प्रायः एक–अर्कामा परिचित हुन्थे। ती मान्छेसँग मैले मंगलबहादुर शाहको नाम लिएँ। मंगलबाहादुर अछामकै मेरो दाजुभाइ पर्ने थिए।
‘उहाँ त असनमा बस्नुहुन्छ,’ उनले असन जाने बाटो देखाइदिए।
असनको एउटा घरको माथिल्लो तलामा मंगलबहादुर शाह बस्दा रहेछन्। मलाई मंगलबहादुरको नाम थाहा थियो, तर चिनेको थिइनँ। नाम टिपेर लगेको थिएँ। मैले उनको नाम सोध्दै जाँदा छक्क परे। मेरोबारे सोधपुछ गरे। अचम्म माने।
म मंगलबहादुरसँगै असनमा नै बस्न थालेँ। त्यो घरमा एक जना बूढी महिला र उनकी नातिनी थिए। छोरा थिएनन्। छोरीतिरकी नातिनी बस्थिन्। त्यो परिवारले कुनै समय तिब्बत पुगेर व्यापार गर्दो रहेछ। राणाकालसम्म पनि नेपाल र तिब्बतबीच व्यापार हुन्थ्यो। काठमाडौंका व्यापारी सामान लिएर तिब्बत जान्थे। त्यहाँ केही महिना बसेर व्यापार गर्थे। अनि त्यताबाट फेरि सामान लिएर काठमाडौं आउँथे र यता पनि व्यापार चलाउँथे। यसरी व्यापार गर्ने काठमाडौंका नेवारहरु नै थिए।
यस्ता व्यापारीले तिब्बतको धेरै चालचलन र संस्कृति नेपाल भित्र्याएका छन्। मैले पहिलो पटक अनुभव गरेको चाहिँ तिब्बती चिया हो।
ती बूढीआमै र उनकी नातिनीले हामीलाई चिया पिउन दिन्थे। उनीहरूकै भाँडोमा बनाएरै दिन्थे। त्यसमा घिउ, नुन र चिनी मिसाएको हुन्थ्यो। त्यस्तो चिया मैले त्यसअघि खाएको थिइनँ। सुरुमा त मिठो भएन। पछि बानी परिएको थियो।
(कुराकानीमा आधारित)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।